Logo

उम्मेदवार छनोट गर्न प्रमुख दललाई सकस



(नवीनबाबु रिजाल)  : सिन्धुली, ३ वैशाख । वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा सिन्धुलीमा दलले अझै उम्मेदवारको छनोट गर्न सकेका छैनन् । दलमा उम्मेदवार बन्ने आकाङ्क्षी धेरै भएपछि उम्मेदवार छान्न सकस भएकोे हो ।

विशेषतः सिन्धुलीमा प्रमुख तीन दललाई नै उम्मेदवार छान्न सकस परेको छ । एउटै वडा तथा गाउँपालिका र नगरपालिकामा तीनदेखि नौजनासम्मका आकाङ्क्षी देखिएपछि दलले अहिले आकाङ्क्षीको नाडी छाम्ने काम गरिरहेका छन् । अहिले सबैजसो मेलापात, घाँस, दाउरा, चियापसल, भेटघाटमा उम्मेदवार को बन्ने होलान् भन्ने चासो र चर्चाको विषय बनेको छ ।

प्रतिस्पर्धामा जित्नेगरी उम्मेदवारको छनोट गर्न दल पर्ख र हेरको स्थितिमा रहेका छन् । कुनै पनि दलले उम्मेदवार टुङ्गो लगाएपछि अरू दलले टुङ्गो लगाउने प्रमुख दलले मनस्थिति बनाएको देखिन्छ । विगतको स्थानीय तहभन्दा अहिलेको स्थानीय तह अधिकारसम्पन्न भएकाले पनि युवादेखि वृद्धसम्मको आकाङ्क्षा देखिएको छ । अहिले सिन्धुलीमाडीमा चुनावको चर्चा गर्ने प्रमुख दलका नेताहरु उम्मेदवार छनोट नै नगरी चुनावी प्रचार–प्रसारमा लागेका छन् । लामो समयसम्म गाउँ नफिर्किएका नेताहरु पनि अहिले गाउँमै व्यस्त देखिएका छन् ।

नेपाली काँग्रेसले हरिहरपुरगढी गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाइसकेको जिल्ला सचिव दीपक घिमिरेले बताउनुभयो । अन्य गाउँपालिका तथा नगरपालिकाका वडामा भने अन्तिम चरणमा पुगिसकेको उहाँको भनाइ छ । गाउँपालिकाको अध्यक्ष तथा नगरपालिकाको मेयरमा आकाङ्क्षी चार÷पाँचजना हुँदा वैशाख ७ गतेसम्म सिन्धुलीमा उम्मेदवार छनोट भइसक्ने घिमिरेले बताउनुभयो । सिन्धुलीका दुई नगरपालिका र सात गाउँपालिकाका ८० वटा वडामध्ये नेकपा (एमाले)ले ७० वटा वडामा सर्वसम्मतिबाट उम्मेदवार छनोट गरेको एमाले सिन्धुलीका उपाध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिनुभयो ।

यस्तै, दुधौली नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा पनि सर्वसम्मतिबाट मेयर र अध्यक्षका उम्मेदवार छनोट स्थानीयस्तरमा नै भएको उहाँको भनाइ छ । दशवटा वडामा जिल्ला कमिटीलाई उम्मेदवार तोक्ने अधिकार दिइएको र कमलामाई नगरपालिकासहित अन्य बाँकी गाउँपालिकामा अबको केही दिनभित्रमै स्वच्छ छवि, जनतामाझ लोकप्रिय र जनप्रतिनिधि बनेपछि जनताको हितमा काम गर्न सक्ने उम्मेदवार छनोट गरिने उहाँ बताउनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र)ले भने वडा, नगरपालिका र गाउँपालिकाबाट मेयर, अध्यक्षसहितको प्यानलका लागि सिफारिस आएको केन्द्रीय सदस्य पानिराज बम्जनले जानकारी दिनुभयो । माओवादी केन्द्रले सिन्धुलीमा यही ८ गतेभित्र सबै नगरपालिका तथा गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाइसक्ने बताउनुभयो । अहिलेसम्म यति नै वडा तथा गाउँपालिकामा उम्मेदवारको छनोट भयो भन्न नसकिने उहाँको भनाइ छ ।

राप्रपाले भने घ्याङलेक गाउँपालिकाबाहेक अरू सबै गाउँपालिका र नगरपालिकामा उम्मेदवारको छनोट सकेको जिल्ला अध्यक्ष भीष्मराज श्रेष्ठले जानकारी दिनुभयो । घ्याङलेक गाउँपालिकामा पनि वैशाख ९ गतेभित्र उम्मेदवारको टुङ्गो लाग्ने उहाँको भनाइ छ ।

यस्तै, नयाँशक्ति पार्टीले सिन्धुलीका सबै वटा र तहमा उम्मेदवार उठाउने भएको छ । अहिलेसम्म तीनपाटन गाउँपालिका, मरिणठाकुर गाउँपालिका र घ्याङलेक गाउँपालिकामा उम्मेदवार चयन भइसकेको जिल्ला संयोजक दीर्घराज श्रेष्ठले जानकारी दिनुभयो । कमलामाई नगरपालिकाका केही वडाबाहेक वडाअध्यक्ष, मेयर तथा उपमेयरको उम्मेदवार चयन भइसकेको र बाँकी वडा, गाउँपालिका र दुधौली नगरपालिकामा पनि अबको केही दिनमा उम्मेदवार छनोट गरिने उहाँको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्