Logo

भारतले राष्ट्रपतिलाई परम्परा अनुसार स्वागत गरेको हो : भट्टराई



काठमाडौ, ५ बैशाख । भारतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान नगरेको चर्चा भइरहँदा एमालेका नेता तथा परराष्ट्रका जानकार राजन भट्टराईले भने त्यो आरोप गलत भएको बताएका छन् । उनले भारतले आफ्नो परम्परा अनुसार नै राष्ट्रपतिलाई स्वागत गरेको दावी गरे ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै नेता भट्टराईले भारतले आफ्नो स्थापित मान्यता अनुसार विमानस्थलमा स्वागत गर्न राज्य मन्त्री पठाएको बताए । विषेश सम्मान भने राष्ट्रपति भवनमा हुने जानकारी दिए ।

‘भारतको परम्परा नै राज्यमन्त्रीले स्वागत गर्ने हो, कहिलेकाही मात्रै फरक व्यक्ति विमानस्थलमा लिन आउने गरेको पाइन्छ’ भट्टराईले भने, ‘गिरिजाप्रसाद कोइराला जादा एकपटक प्रधानमन्त्री विमानस्थलमा आए अरु बेला राज्यमन्त्रीले नै स्वागत गरेका थिए,  प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा , राष्ट्रप्रमुखका रुपमा पूर्व राजा ज्ञानेन्द्र, रामबरण यादव जादा पनि राज्यमन्त्री नै स्वागत गरेका थिए । ’

भारतीय राष्ट्रपति नेपाल आउदा विद्या भण्डारी नै विमानस्थल जानु भएको थियो नी त ? भन्ने प्रश्नमा भट्टराईले भने, नेपालले उहाँलाई विमानस्थलमा नै विषेश सम्मान गरेको थियो, भारतले आज राष्ट्रपति भवनमा सम्मान गर्दैछ त्यसकारण यसलाई लिन को आयो भन्नेसँग सम्मान जोड्नु हुँदैन । उनले नेपाल भारतकको कुटनीतिक परम्परा बुझेर मात्रै टिप्पणी गर्नुपर्ने बताए ।

भारतको बिदेशी पाहुनालाई स्वागत गर्ने शिष्टाचार परंपरा नै यस्तो बसालिएको छ । विदेशी पाहुनाको औपचारिक स्वागत राष्ट्रपति भवनको प्रांगणमा गरिन्छ । राष्ट्रपतिज्यूको पनि त्यस्तै गार्ड अफ अनर सहितको स्वागत पक्कै हुनेछ  यदाकदा स्थापित प्रोटोकल नाघेर बिमानस्थलमा अगुवाई गर्न उच्च तहका नेता पुग्छन् । गिरिजाप्रसाद कोइरालालाई मनमोहन सिंहले त्यस्तै गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्