अब विकास गर्ने नेतालाई मात्रै भोट


जाजरकोट, ५ वैशाख । पार्टीका लोकप्रिय नेता भन्दा पनि जनताको मन जित्ने विकासवादी नेतालाई उम्मेदवार बनाउन जाजरकोटवासीले दलहरुलाई आग्रह गरेका छन् ।

पार्टीको निर्देशन भन्दा पनि जनताको मतको कदर गर्नेलाई हामी समर्थन गर्ने मनसायमा छौँ, त्रिवेणी नलगाड नगरपालिका– ८ की सीता खत्रीले भन्नुभयो ।

भ्रष्टाचार गरेको र विकास निर्माणमा हेल्चक््याई गरेको नेतालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उहाँले बताउनुभयो । मुलुकको विकास र समृद्धिका लागि नातावाद, पार्टीवाद र आफ्नालाई मात्र हेर्ने गरेकोमा अब जनताप्रेमी, विकासवादी, स्वाच्छ छबिका नेता चाहिएको बारेकोट गाउँपालिका जिरीका धनी रावतले बताउनुभयो ।

हाम्रो गाउँपालिकामा अहिलेसम्मा सडक, विद्युत्, टेलिफोन र स्वास्थ्य संस्था नभएको र यी सबै आवश्यकता पूर्ति गर्ने खालका नेताको आवश्यकता रहेको उहाँले भन्नुभयो ।

अहिले हामी एउटै नाउँलाको पानी दुई गाउँका मानिसले खाने गछौँ, त्यही नाउँलाका पानी पशुचौपायालाई समेत खुवाउनुपर्छ, रावतले भन्नुभयो –‘हाम्रो आवश्यकता पुरा गर्ने नेतालाई नै हामी यसपालि मतदान गछौं ।’

“उपचारका लागि हामीलाई स्वास्थ्य संस्था जान पनि चार घन्टा भन्दा बढी समय लाग्छ, भगवानको भरोसमा हामी बाँचेका छौं, अर्का स्थानीय जनक सिंहले भन्नुभयो – पैसाका बलमा राजनीति गर्ने यहाँ धेरै छन् तर विकासका लागि राजनीति गर्ने कोहि देखिएन् ।”

“चुनावका बेला मात्र गाउँमा देखिने नेता देखि सबै सचेत हुनुपर्छ, पश्चिम जुनी चाँदे गाउँपालिका कृष्णबहादुर खड्काले भन्नुभयो – ‘जसले विकास गर्छ उसैलाई भोट दिन्छौं, अब आफ्नो पार्टीको उम्मेदवार हो भनेर भोट हाल्ने दिन गए ।’

पहुँचको आधारमा टिकट

सबै दल र त्यसका नेतृत्वमा अहिले पैसा भएका र ठूला नेतासंग पहुँच भएकालाई मात्र उम्मेदवार बनाउने चलन मौलाएको हुँदा विकासमैत्री सही उम्मेदवार जनताले पाउन सक्ने अवस्था नरहेको त्रिवेणी नगरपालिकाका काँग्रेसका नेता तिलक खत्रीले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनका लागि अहिले दलहरु उम्मेदवार छनौट गर्ने कार्यमा जुटेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ं लगायतका दलहरुमा उम्मेदवारको आँकक्षी धेरैभएपछि उम्मेदवार छनौट गर्न हम्मेहम्मे परेको छ । तर पनि पार्टीको आधिकारिक उम्मेदवार छनौट गर्न दलहरु अन्तिम चरणमा पुगेको छ ।

पत्रकार पनि चुनाव लड्दै

जाजरकोटको बारेकोट गाउँपालिकाको प्रमुख पदकालागि प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष वीरबहादुर गिरीको चर्चा छ भने प्रेस सेन्टर नेपाल, ६ नम्बर प्रदेशका सदस्य दीपेन्द्र शर्मा कुशे गाउँपालिकामा उम्मेदवारी दिइने प्रायः निश्चित छ । रासस