Logo

स्थानीय तहको निर्वाचन विगतको जस्तो निर्वाचन होइन : प्रधानमन्त्री



काठमाडौंँ, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई अधिकार सम्पन्न बनाउने गरी स्थानीय तहको व्यवस्था गरिएको र त्यो नेकपा ९माओवादी केन्द्र०को उपहार भएको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “कतिपयले बीस वर्षपछि स्थानीय निर्वाचन हुन लागेको चर्चा गर्ने गरेका छन् । तर यो पुरानै गाउँ पञ्चायत र गाउँ विकास समितिको निर्वाचन होइन । सिंहदरबारको अधिकार गाउँ, नगरमा फर्काउने व्यवस्थासहितको स्थानीय तहको निर्वाचन हो । त्यसकारण यो निर्वाचन विशिष्ट छ ।”

गाउँपालिका र नगरपालिकाको व्यवस्था र स्थानीय तहको निर्वाचन माओवादी केन्द्रको उपहार भएको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले सिंहदरबारको अधिकार गाउँ तहमा पुगेको उपहार लिएर जनताको घरदैलोमा जान र पार्टीलाई विजयी गराउनेतर्फ लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणका क्रममा तातोपानी नाका खुलाउनेबारे चिनियाँ राष्ट्रपतिसँग गम्भीररुपमा कुराकानी भएको र चिनियाँ राष्ट्रपतिले समेत नाका खुलाउन व्यक्तिगत रुपमै चासो दिएको बताउनुभयो ।

कार्यक्रममा व्यवसायी एवम् समाजसेवी राजकुमार पौडेलले सिंहदरबारमा केन्द्रित अधिकार गाउँ–गाउँमा ल्याउन माओवादीले बलिदान गरेको भन्दै त्यसको रक्षाका लागि आफूहरु माओवादी केन्द्रमा समाहित भएको बताउनुभयो ।

कार्यक्रममा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका ६० जना नेता र कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले स्थानीय तहको निर्वाचनले जनतालाई अधिकारसम्पन्न बनाउने बताउनुभयो ।

निर्वाचन हुन्न कि भन्ने द्विविधा नराख्नुस्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने र सम्पन्न गराउनका लागि सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराखिने भएकाले आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “निर्वाचन हुँदैन कि भनेर द्विविधा राख्नु आवश्यक छैन । केही मान्छे निर्वाचन भाँड्न उद्यत् छन् । उनीहरु संविधान कार्यान्वयन भयो भने मुलुक अगाडि बढ्छ भनेर चिन्तित छन् । उनीहरु जनतालाई अधिकार दिन चाहँदैनन् । तर सरकार चुनाव गराउँछ । यदि र तर ले काम गर्दैन ।”

नेकपा (माओवादी केन्द्र)को तीन प्रदेशको कार्यालय बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै उहाँले शान्ति सुरक्षाको स्थिति मजबुत बनेको र जनताले निर्वाचन चाहेकाले पनि चुनाव हुने र भएरै छाड्ने बताउनुभयो ।

निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया पूर्णरुपमा अगाडि बढाएको, जनता निर्वाचनका लागि उत्साहित भएको, नेता तथा कार्यकर्तामा नयाँ लहर आएकाले पनि निर्वाचन वैशाख ३१ गते एकै चरणमा सम्पन्न हुने उल्लेख गर्नुभयो ।

कुल सात सय ४४ स्थानीय तहमा सिहंदबारको अधिकार विकेन्द्रित गरिएको जानकारी दिनुहँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले निर्वाचन भाँड्न चाहने शक्ति टिक्नै नसक्ने र जनताले तिरस्कार गर्ने बताउनुभयो ।

मधेस केन्द्रित दलसमेत अन्ततः निर्वाचनमा आउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “हाल विरोधीजस्ता देखिएका दलसमेत अन्ततः निर्वाचनमा आउँछन् । आउनुको विकल्प छैन ।”

सो अवसरमा ३ नं प्रदेशका जिल्ला इन्चार्ज र अध्यक्षले निर्वाचनका लागि हालसम्म भएका तयारी, आफ्नो अवस्था एवम् भावी कार्यदिशाका बारेमा धारणा राखेको नेता युवराज चौलागार्इंले जानकारी दिनुभयो ।

बैठकले यही वैशाख ९ गते ७४४ वटै स्थानीय तहमा निर्वाचन केन्द्रित जनसभाको आयोजना गर्ने र उम्मेदवारसमेत घोषणा गर्ने निर्णयसमेत गरेको छ ।

स्थानीय तहबाट सिफारिस भएर आएका उम्मेदवारमध्ये निर्वाचनमा विजयी हुने, लोकप्रिय उम्मेदवार पहिलो प्राथमिकतामा रहेको भन्दै जिल्ला इन्चार्जले निर्वाचन सफल बनाउन स्थानीय तहमा सकारात्मक पहल र प्रयत्न गर्ने जानकारी गराउनुभएको थियो । केही जिल्ला इन्चार्जले स्थानीय आवश्यकता आधारमा अन्य दलसँग चुनावी तालमेल गरेर जान सकिने अवस्था रहेको जानकारी गराएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्