Logo

उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता



काठमाडौँ, ५ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिस र अमेरिकाका कार्यवाहक राजदूत माइकल गोञ्जालेसले छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको छ ।

उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा आज भएको छुट्टाछुट्टै भेटवार्ता गरी दुई देशको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी गर्नुभएको थियो ।

कार्यवाहक राष्ट्रपतिले बेलायतका राजदूत मोरिसँगको भेटमा नेपाल निर्वाचनतर्फ अगाडि बढेको बताउनुभयो । उहाँले यही वैशाख ३१ गते स्थानीय तहको र त्यसपछि लगत्तै प्रदेश र केन्द्रको चुनाव हुने भएकाले नेपाली निर्वाचनमा व्यस्त हुने बताउनुभयो ।

उपराष्ट्रपतिले नेपाल र बेलायतको मित्रतालाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यवाहक राष्ट्रपतिसँगको भेटमा बेलायतका राजदूत मोरिसले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै स्थानीय तहलगायतका निर्वाचन सफलताको शुभकामना दिनुभयो ।

यसैगरी उपराष्ट्रपतिले अमेरिकाका कार्यवाहक राजदूत गोञ्जालेससँगको भेटमा स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न हुने बताउनुभयो । उहाँले तीन तहको निर्वाचनपछि नेपालको राजनीतिक सङ्क्रमण पूर्णरुपमा अन्त्य हुने र नेपाल आर्थिक समृद्धिको यात्रामा द्रुत गतिमा अगाडि बढ्ने बताउनुभयो ।

उहाँले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक परिवर्तनको परिणाम छिट्टै नेपालको समृद्धिमा देखिने बताउनुभयो । उपराष्ट्रपतिले नेपाल र अमेरिकाका दौंत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको बताउनु हुँदै दुई देशबीचको मित्रतालाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

भेटमा अमेरिकाका कार्यवाहक राजदूतले चार हप्तापछि हुन लागेको स्थानीय तहको निर्वाचनको सफलताको शुभकामना दिनुभयो ।

उहाँले आफूहरु देशका विभिन्न भागमा जाँदा स्थानीय जनता स्थानीय तहको निर्वाचनमार्फत आफ्ना प्रतिनिधि चुन्न आतुर भएको पाइएको बताउनुभयो । नेपालका लागि आगामी आठ महिना निकै नै महत्वपूर्ण भएको बताउनु हुँदै उहाँले सबै तहको निर्वाचनपछि नेपालले विश्व समुदायलाई नयाँ सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्