Logo

मोर्चा निर्वाचनमा सहभागी हुने भए दुई चरणमा चुनाव गर्न एमाले सकारात्मक



काठमाडौं, ६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङले मधेशी मोर्चापनि स्थानीय तहको निर्वाचनमा सहभागी हुने हो भने केही भागमा दुई चरणमा चुनाव गर्ने कुरामा आफ्नो सकारात्मक रहेको स्पष्ट पारेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठक सम्पन्न भएपछि बाहिरिने क्रममा नेता नेम्बाङ्ले यस्तो बताएका हुन् । उनले भने,‘बैशाख ३१ गते नै चुनाव गर्नुपर्छ, यसमा सबै दलहरुको एकमत छ, तर मोर्चापनि चुनावमा आउँछ भने दोस्रो चरणमा केही भागमा चुनाव गराउने कुरामा हाम्रो पार्टी सकारात्मक छ।’

प्रमुख राजनीतिक दलहरुवीच आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको रणनीति बनाउन बसेको ५ दलको संयुक्त बैठकमा दाहालले वैशाख ३१ गते र त्यसको २५ दिन पछि अर्को गरी स्थानीय निकायको निर्वाचन दुई चरणमा गर्दा के हुन्छ भनि प्रस्ताव राखेका हुन्।

सत्तापक्षले मधेशी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनको लागि सहमति गरे, एमालेले पनि सकारात्मक सहयोग गर्ने उनको विश्वास थियो । उनल भने‘मोर्चापनि निर्वाचनमा सहभागी हुने वातावरण बने र मोर्चालाई मनाउनको लागि सरकारले वार्ता तथा सम्वाद गरे, यसलाई सार्थक बनाउन लागि एमालेले सहयोग गर्छ।’

प्रमूख पाँच राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का शीर्ष नेताहरुको बैठकले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ ।

बैठकले निर्धारित मितिमै एकतावद्ध भएर स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो । आजको बैठकले स्थानीय तहको निर्वाचन पूर्व नै मधेशी मोर्चालाई पनि सहमतिमा ल्याउन वार्ता र सम्वादको प्रक्रिया जारी राख्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्