Logo

निधिलाई त्यागेर देउवाले कमल थापा रोज्नुको भित्री कारण यस्तो छ



काठमाडौं, ७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अहिले स्थानीय तहको चुनाव बैशाख ३१ गते नै गर्नुपर्छ भन्दै बढि हतारिएका छन् ।

देउवाले सार्वजनिक कार्यक्रमहरुमा समेत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने र यसको लागि आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभन्दा एक कदम माथि उठेर उनले मधेशी मोर्चा सहमतिमा आए दोस्रो चरणमा पनि निर्वाचन गर्नेबारे काँग्रेस लचिलो हुने बताएका थिए । तर उनले पछिल्लो समय मोर्चा नआएपनि चुनाव रोक्न नहुने भन्दै देशैभरि एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् ।

बुधबार विहान प्रधानमन्त्री दाहालको आह्वानमा बसेको प्रमुख ५ दलको बैठकमा पनि सभापति देउवाले घोषित मितिमै चुनाव गर्नुपर्ने र यसबाट एक ईन्चपनि दायाँबायाँ नहुन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

“जतिसक्दो चाँडो चुनाव सम्पन्न भयो त्यति नै धेरै काँग्रेसलाई फाईदा छ,” काँग्रेसका एक प्रभावशाली नेताले भने,“चुनाव जति ढिला हुन्छ, त्यति नै घाटा काग्रेसलाई हुन्छ, त्यसैले अहिले बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन जसरी हुन्छ, गराएर जानुको विकल्प छैन ।”

सभापति देउवाले अहिले प्रधानमन्त्री दाहाल र राप्रपा अध्यक्ष कमल थापालाई साथमा लिएर अघि बढ्ने संकेत गरेका छन्। उनले पार्टीभित्रकै प्रभावशाली नेता एवम् उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिलाई समेत त्याग्ने मनशाय बनाएका छन् । यसको ज्वलन्त उदाहरण हो मर्यादाक्रम विवादमा निधिलाई साथ नदिनुे । त्यस्तै उनले अहिले यो गठबन्धनलाई नै निरन्तरता दिन चाहेका छन् । गठबन्धन बचाउनको लागि पनि जतिसक्दो चाँडो निर्वाचन हुनुपर्नेछ ।

चुनावमा नजाँदा एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपा अध्यक्ष थापाको नयाँ गठबन्धन बन्ने निश्चित छ ।

उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न भए आफू यही गठबन्धनबाट अबको प्रधानमन्त्री बन्ने सजिलो बाटो देखेका छन् । यो भन्दा सजिलो बाटो अर्को छैन ।

त्यस्तै देउवाले मधेशी मोर्चालाई चुनावमा सहभागी गराउनुपर्ने भनिरहे पनि उनी यतिवेला मधेशवादी दल चुनावमा रिजर्भ बसेको हेर्न चाहन्छन् ।  उनको गहिरो बुझाई छ कि मधेशवादी रिजर्भ बसे भने यसको सबैभन्दा ठूलो फाईदा काँग्रेसलाई नै हुन्छ। मोर्चाले चुनावमा भाग नलिए मधेशका धेरै युनिटहरुमा काँग्रेुसले जित्ने छ । त्यसैलपनि देउवा यो फाईदा उठाउनेगरि भित्री कसरतमा होमिएका छन ।

स्थानीय तहको निर्वाचनको मिति छोटिँदै जाँदा उनले मधेशी मोर्चा चुनावमा नआएपनि आफूहरु चुनावमा होमिसकेकोले अब चुनाव नरोकिने बताईसकेका छन । हिजोको बालुवाटार बैठकमा उनले प्रधानमन्त्रीलाई स्पट रुपमा चुनावबाट पछि नहट्न आग्रह नै गरिसकेका छन् । देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,“अब काँग्रेस चुनावबाट पछि हट्दैन, सरकारले दहा«सँग खुट्टा टेक्नुपर्यो, जे पर्छ, यो कुरा देउवाले फेस गर्छ।”



प्रतिक्रिया दिनुहोस्