Logo

राष्ट्रपति भण्डारीबाट दुग्ध उद्योग अवलोकन



गुजरात (भारत), ७ वैशाख । भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज गुजरात राज्यको राजकोटस्थित दुग्ध किसानद्वारा सहकारीमार्फत सञ्चालित राजकोट डेरीको अवलोकन गर्नुभएको छ ।

आफ्नो भारत भ्रमणका क्रममा बुधबार राजकोट आइपुग्नुभएका राष्ट्रपति भण्डारीले आज बिहान सो डेरीको अवलोकन गर्नाका साथै डेरी सञ्चालन, उत्पादन तथा प्रशोधनका बारेमा जानकारी लिनुभयो । राष्ट्रपति भण्डारीले उक्त उद्योगमा पुगेर दुग्ध उत्पादनका प्रशोधन कक्षको अवलोकनसमेत गर्नुभएको थियो ।

सन् १९६१ मा स्थापित सो सहकारी दुग्ध सङ्कलन केन्द्र सन् १९८८ मा राजकोट जिल्ला दुग्ध सङ्घका रुपमा संस्थागत भएको हो । सो दुग्ध सहकारीअन्तर्गत आठ सय पाँच दुग्ध सहकारी समूह रहेकामा चार सय ४८ अर्थात् ५७ प्रतिशत महिला दुग्ध समूह सहकारीमा आबद्ध छन् । सहकारीमा राजकोट क्षेत्रका छ सय १२ गाउँका ६४ हजार दुग्ध उत्पादक किसान सदस्य आबद्ध छन् । तीमध्ये २९ हजार ग्रामीण गृहिणी महिला दुग्ध उत्पादन किसान सदस्य छन् ।

हाल भारत र छिमेकी मुलुकमा समेत राम्रो बजार बनाउन सफल अमूल दूध, घिउ, दही, चिज र दूधबाट उत्पादित मिठाइजन्य पदार्थ सो उद्योगमार्फत उत्पादन हँुदै आएका छन् । उद्योगको दैनिक १० लाख लि दूध प्रशोधन क्षमता भए पनि हाल दैनिक छ लाख लि दूध प्रशोधन हुने गरेको उद्योगका अध्यक्ष एसी सिन्हाले जानकारी दिनुभयो । दैनिक छ लाख लि दूध प्रशोधन गर्ने क्षमता भएको उद्योगले दैनिक तीन लाख लि दूध चिस्यान गर्दै आएको बताइएको छ ।

सो उद्योगको दूध तथा दुग्धजन्य पदार्थको उत्पादन क्षमता पाँच वर्षदेखि सात प्रतिशतले बढिरहेको उद्योगका अध्यक्ष सिन्हाले जानकारी दिनुभयो । उद्योगको दूध तथा दुग्धजन्य पदार्थको भारु सात अरब ३६ करोड वार्षिक कारोबार र संस्थामा आबद्ध सबै सहकारी समूहको समग्र कारोबार भारु २७ करोड रहेको छ । सो उद्योगबाट उत्पादित वस्तुबाट प्राप्त सम्पूर्ण रकममध्ये ८५ प्रतिशत रकम गाई र भँैसीपालनका लागि ग्रामीण किसानलाई दूध उत्पादनमा लगानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस अवसरमा शान्तिमन्त्री सीतादेवी यादव, सांसद, राष्ट्रपतिका परराष्ट्रविज्ञ डा मदनकुमार भट्टराई, सञ्चारविज्ञ माधव शर्मा, प्रमुख स्वकीय सचिव भेषराज अधिकारी, राजनीतिक तथा मानवअधिकारविज्ञ सुशील प्याकु¥याल, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, राष्ट्रपतिकी सुपुत्री उषाकिरण, नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरी, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलगायतको सहभागिता रहेको थियो । यसअघि राष्ट्रपति भण्डारीसँग आज नै गुजरातको राजघाटमा नेपालका विभिन्न क्षेत्रबाट आएर विभिन्न पेसा व्यवसाय गर्ने प्रवासी नेपालीले भेट गरेका थिए ।
राष्ट्रपति उडिसामा
उडिसा (भारत)– राष्ट्रपति भण्डारी आज भ्रमणको चौथो दिन भारतको अर्को मुख्य औद्योगिक तथा पर्यटकीय सहर उडिसाको राजधानी भुवनेश्वर आइपुग्नुभएको छ । राष्ट्रपति भण्डारी गुजरातको राजकोटबाट एयर इन्डियाको विशेष विमानबाट आज अपराह्न उडिसा राज्यमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएको हो ।

उडिसा आउँदा राष्ट्रपति भण्डारीलाई बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा उडिसा राज्यका वित्तमन्त्री प्रदीप अमात्तलगायत उडिसा राज्य सरकारका उच्च सरकारी अधिकारीले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीले आजै यहाँस्थित उजाला महिला सशक्तीकरण कार्यक्रममा सहभागी भएर सो कार्यक्रमबारे जानकारी लिनुहुने छ । यसलगत्तै राष्ट्रपति भण्डारीले यहाँस्थित लिङ्गराज मन्दिर पुगेर दर्शन गर्नहुनेछ ।

राष्ट्रपति भण्डारीको सम्मानमा आज साँझ उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले रात्रिभोजको आयोजना गर्नुहुनेछ । शुक्रबार राष्ट्रपति जगन्नाथपुरीस्थित प्रसिद्ध तीर्थस्थल जगन्नाथ मन्दिर पुगेर त्यहाँ दर्शन तथा पूजाआजा गर्नुहुने कार्यक्रम छ । रासस



प्रतिक्रिया दिनुहोस्