Logo

भावी प्रधानन्यायाधीशको एसएलसी प्रमाणपत्रै गायब !



काठमाडौं ११ बैशाख ।
२०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह (आईएल) मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो । विद्यार्थीको नाम, ठेगाना, जन्ममिति र पिताको नामलगायत व्यक्तिगत विवरणको अभिलेख हुने रजिस्ट्ररमा उनीसहित अन्य चार जना विद्यार्थीको विवरण छोपिएको छ । नेपाल ल क्याम्पसमा उनका अन्य कागजात रहे पनि एसएलसी प्रमाणपत्रको अभिलेख नरहेको स्रोतले बतायो । ‘उहाँको अभिलेखबाट एसएलसीको मार्कसिट र क्यारेक्टर सर्टिफिकेट हराएको छ,’ क्याम्पस प्रशासन स्रोतले भन्यो ।

… … …
२०७३ पुस १ मा न्यायपरिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश सुशीला कार्कीले ‘न्यायाधीश पराजुलीको शैक्षिक योग्यताका प्रमाणपत्रहरू परिषदको अभिलेखमा नरहेकाले एक साताभित्र मागेर राख्न’ तत्कालीन सचिव कृष्ण गिरीलाई आदेश दिइन् । आदेशमा भनिएको थियो, ‘न्यायाधीशहरूको एसएलसीदेखि सबै तहको शैक्षिक योग्यता तथा नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि अनिवार्य पेस गर्न लगाउनू ।’ तर हालसम्म पनि न्यायपरिषदकै वरिष्ठतम सदस्य रहेका पराजुलीको एलएलसीको प्रमाणित प्रतिलिपि न्यायपरिषद्मा पेस नगरिएको स्रोतले बतायो ।
… … …
सामान्यतया कुनै पनि व्यक्तिको शैक्षिक प्रमाणपत्र केही सीमित निकायमा मात्रै अभिलेखका रूपमा रहन्छ । माथिल्लो तहमा भर्ना हुने क्रममा तल्लो तहको प्रमाणपत्र पेस गर्नुपर्छ । नेपाल ल क्याम्पसमा पराजुलीको एसएलसीको प्रमाणपत्र छैन । त्यसबाहेक सेवा प्रवेशका क्रममा सरकारी निकायमा पनि अभिलेख रहनुपर्छ ।

पराजुली सोझै पुनरावेदन तहको अदालतमा नियुक्त भएकाले उनको प्रमाणपत्रको अभिलेख न्यायपरिषद्मा रहनुपर्छ तर त्यहाँ नभेटिएका कारण नै प्रधानन्यायाधीश कार्कीले उनको प्रमाणपत्र झिकाउने आदेश दिएकी थिइन् । न्यायपरिषद् स्रोतका अनुसार अध्यक्ष कार्कीको निर्देशनमा वरिष्ठतम पराजुलीदेखि कनिष्ठ अवनी मैनालीसम्मको अद्यावधिक विवरण न्यायपरिषदको रोस्टरमा अभिलेख गरिएको छ । तर त्यसमा पराजुलीको एलएलसीको प्रमाणपत्र छैन ।
… … …
यी दुई निकायबाहेक प्रमाणपत्र जारी गर्ने निकायमा समेत अभिलेख सुरक्षित हुनुपर्छ । पराजुलीले चितवनको शारदानगरस्थित शारदा बहुउद्देश्यीय विद्यालय (हाल शारदा उमावि) मा १० कक्षासम्म अध्ययन गरेका हुन् । त्यहाको अभिलेख हेर्दा श्री शारदा बहुउद्देश्यीय विद्यालय (हाल शारदा उच्च माध्यमिक विद्यालय) शारदानगर, चितवनको २०२६ साल (तदनुसार सन् १९७०) को एसएलसी दिने विद्यार्थी अभिलेखको आठौं क्रममा ‘गोपाल पराजुली’ नाम छ । १०८६८ ‘जेड’ को सिम्बोल नम्बर रहेका उनी अंग्रेजी पहिलोपत्रमा १०० पूर्णांकमा ३० अंक आएका कारण अनुत्तीर्ण भएको देखिन्छ । त्यसबाहेक इलिमेन्ट्री नेपालीमा पनि ५० पूर्णांकमा ११ अंक ल्याएर अनुत्तीर्ण थिए । लब्धांक नम्बर राखिएको उक्त अभिलेखमा नियमित मात्रै होइन, ग्रेस नम्बर पाएर उत्तीर्ण हुनेसमेतको डिभिजन विवरण उल्लेख छ ।
परीक्षा नियन्त्रण कार्यालयमा पराजुलीले २०२६ सालमा एसएलसी दिएको अभिलेख भने छ ।

विद्यालय तथा कार्यालयको अभिलेखअनुसार पराजुली २०२६ सालमा एसएलसी अनुत्तीर्ण भएको देखिन्छ । त्यसपछिको चार वर्षसम्म उनले उक्त विद्यालयबाट एसएलसी दिएका छैनन् । शारदाको अभिलेखमा मात्र होइन, देशभरका एलएलसी परीक्षार्थी र उत्तीर्ण विद्यार्थीको अभिलेख राख्ने परीक्षा नियन्त्रण कार्यालयमा पनि त्यसपछिका चार वर्षमा कहीँकतै उनको नाम भेटिँदैन ।

‘यहीँबाट जारी भएको प्रमाणपत्रका आधारमा २०३१ सालमा नेपाल ल क्याम्पसमा आईएल भर्ना हुनु, तर यहाँको अभिलेखमा उहाँको कुनै विवरण नभेटिनु आश्चर्य भयो,’ परीक्षा नियन्त्रण कार्यालय स्रोतले भन्यो । यी सबै निकायमा अभिलेखमा नभेटिएपछि पराजुली स्वयंसँग मात्रै एलएलसीको प्रमाणपत्र सुरक्षित रहने सम्भावना बाँकी छ, जुन दुई दिनअघिसम्म उनले न्यायपरिषद्मा पेस गरेका छैनन् । कान्तिपुरमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्