Logo

चीन जोड्ने सडकको ट्रयाक खन्न सुरु



काठमाडौं १२ बैशाख ।
चीनको सिमाना तिब्बतसम्म जोड्ने बेनीघाट–आरुघाट–सिर्दिबास–लार्केभज्याङ सडकको ट्रयाक खोल्न सोमबारदेखि नेपाली सेनाको टोलीले काम थालेको छ । ट्रयाक खुलिसकेको हावाडाडास्थित लापुभिरमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एकैपटक एक सय बम ब्लाष्टिङ गर्दै पहरो फुटाएर कामको थालनी गरे ।

पहरामा होल खोपेर राखिएका बमहरु क्षेत्रीले विद्युतीय स्वीच थिचेर बिस्फोट गराएका थिए । चट्टान धेरै भएर सडकको ट्रयाक विस्तार गर्न नसकेपछि सरकारले सेनालाई जिम्मा दिने निर्णय गरेको हो । सडक विभागले ट्रयाक खुलाउन नसकेको ठाउँबाट लार्केभज्याङसम्म सेनाले काम गर्न लागेको छ ।

बेनीघाटबाट आरुघाटहुँदै हावाडाडासम्म ६२ किमी सडक विस्तार भइसकेको छ । हावाडाडाबाट १ सय २० किमी सडक सेनाले खन्न लागेको हो । बेनीघाटबाट तिब्बत सिमानासम्म सडक पुर्‍याउन २२ वर्षअघि जीटीजेडले बेनीघाटबाट काम थालेको थियो । २२ वर्षसम्म ६२ किमी सडक मात्र खुलेपछि थप ट्रयाक खोल्न सेनालाई मंसिरमा सरकारले जिम्मा दिएको हो । बेनीघाट बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना निर्माण हुने स्थान हो ।

कुल १ सय ८३ किमी लम्बाइ हुने सडक उत्तरी नाकाको सामागाउँहुँदै चीनको सीमासम्म जोड्ने योजना छ । उक्त सडक मनाङको नामसम्म पुग्ने छ । सामागाउँको साम्दोबाट पनि तिब्बतसम्म सडक पुर्‍याउन करिब ३० किमी ट्रयाक बिस्तार गर्नुपर्ने अनुमान गरिएको छ । ट्रयाक खोल्न औपचारिक रुपमा काम सुरु गरिएको सडक विस्तार कार्यदलका प्रमुख मेजर निशान्त क्षेत्री बताए । ‘तातोपानीसम्म सडक विस्तार गर्न १६ किलोमिटरको विस्तृत सर्भे सकिएको छ,’ उनले भने, ‘अब फिल्डमै काम हुन्छ ।’ दैनिक एक सय सेनाका जवान र प्राविधिकहरुले काम गर्ने उनले बताए ।

माछिखोलामा पनि अर्को क्याम्प खोलेर कामलाई अघि बढाउने सेनाको योजना छ । ‘अहिले अर्मलामा मात्रै कार्यदलको क्याम्प खडा गरिएको छ,’ उनले भने, ‘वर्षात सकिएपछि माछिखोलामा पनि काम हुन्छ ।’ सिर्दिबाससम्म धेरै चट्टानहरु भएकाले बिष्फोटक पदार्थ पडाएर सडक विस्तार गरिने उनले बताए । सडक बने तिब्बतबाट वीरगंज हँुदै भारत जोड्ने सबैभन्दा छोटो सडक हुने दाबी गरिएको छ । तातोपानीभन्दा माथिल्लो भेगमा सडकको विस्तृत सर्भे गर्न नै बाँकी छ ।

सरकारको आग्रहमा सेनाले सडकको ट्रयाक खोल्ने काम जिम्मा लिएको प्रधानसेनापति क्षेत्रीले बताए । ‘अप्ठ्यारो भीरपहरा धेरै भएका कारण काम जोखिमपूर्ण छ,’ उनले भने, ‘सेनासँग सडक विस्तारको अनुभव भएकाले सफलतापूर्वक काम गर्न सकिन्छ भन्ने विश्वास छ ।’ राजनीतिक बाधाअवरोध नआए तीन वर्षभित्र सेनाले काम सक्ने उनको भनाई छ । उनी सडक शिलान्यास गर्न हेलिकप्टरमा लापुभिर पुगेका थिए । मनासलु पदमार्गको आसपासहँुदै लार्केभज्याङसम्म सडक पुर्‍याइने मेजर क्षत्रीले बताए ।

सडक बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट अख्तियारी दिइसकेको छ । ३ करोड ५० लाख बजेटको अख्तियारी रक्षा मन्त्रालयमा पुगेपछि सेनाले काम थालेको हो । अर्को छेकम्पार नाका हुँदै तिब्बतसम्म सडकको ट्रयाक खोल्न पनि सडक विभागमार्फत काम भइरहेको छ । एघारकिलो–छेवेटार–बारपाक–गुम्दा–माछिखोलाहँुदै छेकम्पारसम्म पनि सडक विस्तार गर्न लागिएको हो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्