Logo

चुनावको मुखमा राष्ट्रपति भण्डारी थाइल्यान्ड र श्रीलंका जाँदै



काठमाडौं २५ बैशाख । दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनको पहिलो चरण वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारी भने मुलुकबाहिर हुनेछिन् । पहिलो चरणको मतदान हुनु दुई दिनअघि राष्ट्रपति भण्डारी थाइल्यान्ड हुँदै श्रीलंकाको औपचारिक भ्रमणमा जाँदैछिन् । उनी वैशाख २९ गते पाँचदिने औपचारिक भ्रमणका लागि श्रीलंकातर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

श्रीलंकासँग सीधा उडान नभएकै कारण उनी नेपाल एअरलाइन्सको उडानमा थाइल्यान्ड पुग्नेछिन् । त्यहाँ उनी एक रात रहने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार त्यस क्रममा राष्ट्रपतिले स्वर्गीय थाई राजा भूमिवल अदुल्यादेशको पार्थिव शरीरमा माल्यार्पण गर्नेछिन् ।

राजा भूमिबलको निधनपछि विश्वका विभिन्न मुलुकका राजनेता बैंकक पुगेर माल्र्यापण गर्ने गरेका छन् । धेरैले थाइल्यान्डलाई ट्रान्जिट पारेर त्यस्तो श्रद्धाञ्जली व्यक्त गर्ने गर्छन् । २०१६ अक्टोबर १३ निधन भएमा भूमिबल अदुल्यादेजको पार्थिव शरीर ‘ग्रान्ड प्यालेस’ मा राखिएको छ । उनको अन्त्येष्टि बौद्ध धर्म परम्पराअनुसार आगामी अक्टोबर २६ मा त्यही प्यालेसको एक गार्डेनमा गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय वैशाख दिवसको कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी श्रीलंका जान लागेकी हुन् । उनको भ्रमण कार्यक्रमबारे अझै सरकारले निर्णय लिएको छैन तर तयारी भने भइरहेको छ । उनी थाइल्यान्डबाट एअर लंकामार्फत वैशाख ३० मा कोलम्बो पुग्नेछिन् ।

बुद्धजयन्तीका अवसरमा भण्डारी क्यान्डी सहरमा हुने कार्यक्रममा सहभागी हुनेछिन् । सन् २००० देखि संयुक्त राष्ट्रसंघले बुद्ध जयन्तीलाई संयुक्त राष्ट्रसंघीय दिवसका रूपमा मनाउन सुरु गरेको हो । यस अवसरलाई थाइल्यान्ड, श्रीलंका, म्यानमारलगायतले वैशाख डेका रूपमा मनाउँदै आएका छन् ।

नेपालमा वैशाख २७ गते बुद्धजयन्ती मनाइन्छ । तर, श्रीलंकामा वैशाख दिवस वैशाख २९ मा मनाइने र तीन दिन यसको विशेष सम्मेलन गर्ने गरिन्छ । वैशाख २९ मा राजधानी कोलम्बोमा आरम्भ गरेर दोस्रो ठूलो सहरमा क्यान्डीमा समापन गरिन्छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्