Logo

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका क्षेत्राधिकारका समस्या संविधानसम्मत खोजिने : नेपाली काँग्रेस



काठमाडौँ, २५ वैशाख । नेपाली काँग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका क्षेत्राधिकारमा देखिएका समस्यालाई संविधानसम्मत् समाधान खोजिने जनाएको छ ।

“नेकाले आफ्नो सम्पूर्ण ध्यान आसन्न स्थानीय तहको निर्वाचनमा लगाएको छ, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ–आफ्ना सीमारेखा र मर्यादाभित्र बस्नुपर्छ, पछिल्लो समय यी निकायबीचका क्षेत्राधिकारमा देखिएका भनिएका विषयमा आफ्नो आधिकारिक धारणा निर्वाचनपछि सार्वजनिक गर्नेछ” केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले भन्नुभयो ।

स्थानीय तहका निर्वाचनका पछिल्ला गतिविधिबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक लेखकले नेकाले आफ्नो बल र ऊर्जा निर्वाचनमा लगाएको छ, निर्वाचनपछि मात्र ती तीन निकायका क्षेत्राधिकारमाथि देखिएका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनुुभयो ।

“नेका आफ्नो स्थापनादेखि नै स्वतन्त्र, निष्पक्ष, मर्यादित न्यायपालिकाको पक्षमा रहेको छ, न्यायपालिकालाई उच्च सम्मान गर्छ, अदालतका आदेश एवम् काम स्वतन्त्र, निष्पक्ष र मर्यादित हुन्छ भन्ने विश्वासमा पार्टी रहेको छ” – उहाँले भन्नुभयो ।

संयोजक लेखकले संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन गर्न लागिएको र संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन हुन लागेको चर्चा गर्दै यी दुवै कार्य सरकारले एकसाथ अगाडि बढाएको उल्लेख गर्नुभयो ।

तराई÷मधेस एवम् अन्य समुदायले उठान गरेका माग संविधान संशोधनमार्फत सम्बोधन हुने चर्चा गर्दै उहाँले छिट्टै संविधान संशोधनको प्रस्ताव पारित हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

नेका निष्पक्ष चुनाव चाहन्छ

संयोजक लेखकले चितवन, धादिङलगायत केही जिल्लामा नेका चुनाव प्रसारप्रसारमा परिचालन भएका यातायात साधनमाथि तोडफोड एवम् आगजनी गरी पु¥याएको क्षतिको भत्र्सना गर्दै यस्तो कार्यले पार्टी विचलित नहुने पत्रकार सम्मेलनमा बताउनुभयो ।

“हामी निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा दुवै चरणका निर्वाचन सम्पन्न होस् भन्ने चाहन्छाँै, यसका लागि हामी अनुशासित, मर्यादित रुपमा लागिरहेका छौँ” – उहाँले भन्नुभयो ।

सञ्चारकर्मीको एक जिज्ञासामा संयोजक लेखकले स्थानीय आवश्यकताअनुसार नै केही जिल्लामा अन्य पार्टीसित चुनावी तालमेल भएको हो, तालमेल गरेका स्थान र जिल्लामा अब कुनै समस्या र द्विविधा नरहेको स्पष्टसमेत पार्नुभयो ।

उहाँले आम मतदातालाई निर्धक्क रुपमा आफूले मन पराएका पार्टीका उम्मेदवारलाई अगामी वैशाख ३१ गते मत खसाल्न आग्रह गर्दै ती मतले नै लोकतन्त्रको जराका रुपमा स्थानीय सरकार उभिन्छ भन्नुभयो ।

संयोजक लेखकले आफ्नो पार्टीले मतदान गर्ने तरिकाका बारेमा आम मतदातामा मतदाता शिक्षा सञ्चालनसमेत गरिराखेको जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्