Logo

‘न्यायपालिकाको मूल्य मान्यता जगेर्ना गर्ने दिशामा सबैको ध्यान जानुपर्छ’ : प्रधानन्यायाधीश कार्की



काठमाडौं २६ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीले संवैधानिक सर्वोच्चता, कानुनको शासन र स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता जगेर्ना गर्ने दिशामा सबैको ध्यान जानुपर्ने बताउनुभएको छ ।

कानुन दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले नागरिकका संवैधानिक एवम् कानुनी हक अधिकारको सच्चा पहरेदारका रुपमा रहेको स्वतन्त्रता न्यायपालिकाको आधारस्तम्भ भएको बताउनुभयो ।

सन्देशमा प्रधानन्यायाधीश कार्कीले भन्नुभएको छ, “यो दिवसले संवैधानिक सर्वोच्चता, कानुनको शासन र स्वतन्त्र न्यापालिकाको मूल्य मान्यता जर्गेना गर्ने दिशामा सम्बन्धित सबैको यथोचित प्रयास हुने अपेक्षा गरेकी छु ।”

कानुनको शासन एवम् स्वतन्त्र न्यायपालिका स्थापनाका लागि जारी भएको प्रधान न्यायलय ऐन, २००८ लागू भएको दिनको सम्झनास्वरुप मनाउने यो दिवसले कानुनप्रतिको निष्ठा, संविधानप्रतिको बफादारिता एवम् राष्ट्रसेवामा जुट्ने प्रेरणा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्