Logo

बालुवाटारको चार दलको बैठकमा ‘धमलाको हमला’ कार्यक्रमको चर्चा



काठमाडौं, २६ चैत्र । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्र, र संघीय गठबन्धनको बैठकमा हिमालय टेलिभिजनबाट प्रशारण हुने पत्रकार ऋषि धमलाको लोकप्रिय कार्यक्रम ‘धमलाको हमला’ को चर्चापरिचर्चा भएको छ ।

संविधान संशोधन प्रस्ताव, स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मोर्चालाई कसरी सहभागी गराउने, स्थानीय तहको संख्या बढाउने विषयमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको शीर्ष नेताहरुको बैठकमा एकाएक धमलाको हमलाको कार्यक्रमको चर्चा भएको हो ।

बैठकको सुरुवातमै उपप्रधान् एवम् गृहमन्त्री विमलेन्द्र निधिले गत आईतबार राति प्रशारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलाको बेजोडको प्रस्तुति रहेको भन्दै प्रशंसा गरेपछि करिब १५ मिनेटजति उक्त कार्यक्रमको बारेमा नेताहरुवीच चर्चा भएको थियो । निधिको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘अस्ती आईतबारको धमलाको हमला कार्यक्रम जबरजस्त थियो, सैद्धान्तिक बहस गज्जब देखियो ।’

निधिले त्यसो भन्न नपाउँदै बैठकमा उपस्थिति राष्ट्रिय जनता पार्टीका शीर्ष नेता राजेन्द्र महतोले उक्त कार्यक्रममा आफू सहभागी भैसकेको उल्लेख गर्दै भने,‘धमलाको हमला कार्यक्रममा म पनि सहभागी भएको छु, मैले ऋषिजीलाई नै हमला गरेर आएको छु, तपाईहरुले हेर्नुभएको छैन्?’

राजेन्द्र महतोले आफ्नो भनाई राखेपछि माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पनि धमलाको हमला जनतामा अत्यन्तै लोकप्रिय कार्यक्रम भएको विश्वास व्यक्त गरे । उनले गाउँगाउँमा धमलाको हमलाको मात्रै चर्चा हुने गरेको खबर शीर्ष नेताहरुसामू सुनाए ।

अलि ढिलो बैठकमा सहभागी भएका एमाले उपाध्यक्ष वामदेव गौतम छिर्दा धमलाको हमलाको बारेमा चर्चा भैरहेको सुनेपछि गौतमले पल्यापुलुक चारैतिर हेरे अनि जवाफ दिए,‘धमलाजीपनि आउनुभएको छ कि क्या हो,’ गौतमले पनि आफू पनि धमलाको हमला कार्यक्रममा गएको स्मरण शीर्ष नेताहरुलाई गराए । टोपबहादुर रायमाझीले पत्रकार ऋषि धमलालाई उक्त कार्यक्रमको बारेमा शीर्ष नेताहरुले खुलेरै प्रशंसा गरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्