Logo

दश दिनमा २३ निर्वाचन आचारसंहिता उल्लङ्घन : प्रेस काउन्सिल



काठमाडौँ, २६ वैशाख । प्रेस काउन्सिल नेपालले छापा र अनलाइन सञ्चारमाध्यममा २३ वटा निर्वाचन आचारसंहिता विपरीतका समाचार प्रकाशित भएको जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि काउन्सिललाई अनुगमनको जिम्मेवारी दिएअनुसार यही वैशाख १५ देखि २५ गतेसम्म अनुगमन प्रतिवेदन आज सार्वजनिक गरेको छ ।

काउन्सिलका अनुसार केही साप्ताहिक पत्रिका र केही अनलाइन समाचार प्रोटलले आचारसंहिता उल्लङ्घन गर्दै आफू निकटका दलको पक्षमा प्रचारप्रसार गरेका छन् । ‘स्थानीय निर्वाचनमा भोट माग्न आए कान काट्ने’ भन्ने जस्ता नकारात्मक प्रवृत्तिको समाचारदेखि काठमाडौँ महानगरका मतदातालाई कसलाई भोट दिनहुन्छ भन्ने मतदाताको उत्तरसम्मका विषयमा एकपक्षीयरुपमा समाचार सम्प्रेषण गरिएको काउन्सिलले जनाएको छ ।

यस्तै मत परिणामको विषयमा समेत कही अनलाइनमा समाचार सार्वजनिक भएको भन्दै काउन्सिलले दल विशेषको पक्षमा प्रचार गर्दा अरू राजनीतिक दललाई गाली गर्ने र होच्याउने गरिएको समेत पाइएको उल्लेख छ ।

यस्तै सामाजिक सञ्जालमा पनि निर्वाचन आचारसंहिताविपरीतका सामग्री प्रचारप्रसार गरिएको काउन्सिलले जनाएको छ । यस्तै दमौली एफएम र एभिन्यूज टेलिभिजनले पनि निर्वाचन आचारसंहिता विपरीतको सामग्री प्रसारण गरेको अनुगमनका क्रममा देखिएको छ ।

काउन्सिलले २५ सञ्चारमाध्यममा ३१ सामग्री र सामाजिक सञ्जालमा दुईवटा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै आवश्यक सचेतता अपनाउन भनेको छ ।

काउन्सिलका कायमुकायम अध्यक्ष किशोर श्रेष्ठले निर्वाचनको संवेदनशीलतालाई ख्याल गरेर प्रेस स्वतन्त्रताको उपयोग गर्न आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले संविधान कार्यान्वयन गर्ने र स्थानीय निकाय गठन गर्ने महत्वपूर्ण अवसरका रुपमा रहेको यस घडीमा निर्वाचन आचारसंहितालाई पालना गर्नु पत्रकार र सञ्चारमाध्यमको प्रमुख कर्तव्य रहेको धारणा राख्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्