Logo

संविधान कार्यान्वयनका लागि काँग्रेस र माओवादी केन्द्र मिल्नु परेको : रक्षामन्त्री खाँड



चितवन, २७ वैशाख । रक्षामन्त्री बालकृष्ण खाँडले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) मिल्नु परेको बताउनुभएको छ ।

आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले आफ्नो पार्टी को नेतृत्वमा बनेको संविधान कार्यान्वयन गराउने जिम्मेवारी काँग्रेसको काँधमा आएको हुँदा स्थानीय तहको निर्वाचनमा पार्टीले केहि ठाउँँमा (माओवादी केन्द्र)संग सहकार्य गर्नुपरेको स्पष्ट पार्नुभयो ।

मन्त्री खाँडले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रको पक्षधरसँग सहकार्य गरेर निर्वाचनमा सहभागी भएको बताउँदै निर्वाचनको मनोनयनका समयमा राष्ट्रिय राजनीति फरक प्रशङ्गमा प्रवेश गरेका कारण संयुक्त प्यानल बनाउन नसकेको धारणा व्यक्त गर्नुभयो ।
समयमा सहमति गर्न नसकेको स्वीकार गर्दै उहाँले तालमेल गर्ने ठाउँमा काँग्रेस र माओवादी केन्द्रसँग मात्र हुने बताउनुभयो । अहिलेसम्मको साख बचाउनका लागि पनि पार्टीले गरेको निर्णय कार्यान्वयन गर्ने पक्षमा काँग्रेसी कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री खाँडले अहिलेको निर्णय काँग्रेसी कार्यकर्ताका लागि असहज परिस्थिति भए पनि यो एकता मुलुकको रक्षा र संविधान कार्यान्वयनका लागि भएको बताउनुभयो । मुलुकमा देखिएको द्वन्द्व व्यवस्थापनका लागि अहिलेको तालमेल भएको पनि उहाँले बताउनुभयो ।

फरक प्रशङ्गमा सेना सरकारको महत्वपूर्ण सुरक्षा निकाय भएकाले निर्वाचनमा हुनसक्ने खतरालाई मध्यनजर गर्दै परिचालन गरिएको उल्लेख गर्दै मन्त्री खाँडले मतदानस्थलमा कुनै किसिमको अप्रिय घटना हुने सङ्केत पाए सेनाले सुरक्षाको व्यवस्था मिलाउने पनि बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्