Logo

लुभुमा स्वतन्त्र उम्मेदवार कार्कीको पक्षमा जनलहर



ललितपुर, २७ वैशाख । महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार विवेक कुमार कार्कीको पक्षमा जनलहर आएको छ । मुख्य राजनीतिक दलहरूले उम्मेदवारी दिंदा विवाद बढेपछि स्थानीय तहमा विकास निर्माणमा सक्रिय रहँदै आएका युवा लोकप्रीय उम्मेदवार विवेकको उम्मेदवारीको पक्षमा लहर आएको छ ।

बुधबार वडा नम्बर ८ मा विवेकका पक्षधरहरुले ¥याली आयोजना गर्दा झण्डै हजारको संख्यामा स्थानीयवासी सहभागी भएपछि उनलाई मुख्य प्रतिष्पर्धीका रुपमा हेर्न थालिएको छ । ३५ वर्षीय उनी वडा नम्बर ८ मा वडाध्यक्षका रुपमा सबैभन्दा कान्छा उम्मेदवार मात्र नभई विकासमा सक्रिय उम्मेदवार पनि हुन् ।

ऐतिहासिक तथा पुरातात्विक महत्वको लुभु क्षेत्र पर्ने उक्त वडामा काँग्रेसबाट श्याममोहन श्रेष्ठ, एमालेबाट विश्वराज श्रेष्ठ र माओवादी केन्द्रबाट सानुकान्छा श्रेष्ठ उम्मेदवार छन् । तीनै जना उम्मेदवार लुभु बजारभित्रका हुन् भने स्वतन्त्र उम्मेदवार कार्की लुभु बजारको दक्षिणपश्चिममा पर्ने विष्णुडोलका हुन् । दलहरूले टिकट बाँड्दा स्थानीय तहमा विकास निर्माण र सामाजिक कार्यहरूमा खटिनेभन्दा पहुँचवालालाई दिएको भन्दै टोल टोलमा असन्तुष्टि बढेको अवस्थाले पनि स्वतन्त्र उम्मेदवारको पल्लाभारी भएको हो ।

काँग्रेसका उम्मेदवार श्याममोहन १९ वर्ष अघि भएको स्थानीय चुनावमा गाविस अध्यक्षमा पराजित भएका थिए । एमाले उम्मेदवार विश्वराज स्वास्थ्य क्षेत्रमा सिमित थिए भने विकासको काममा माओवादी केन्द्रका उम्मेदवार सानुकान्छा चाहिं सक्रिय रहँदै आएका थिए ।

स्वतन्त्र उम्मेदवार कार्की लुभुलाई हरियाली शहर बनाउनेसहितको २६ बुँदे संकल्प सहित प्रचार प्रसार गरिरहेका छन् । उनले स्वतन्त्र भूमिकामा वडाको विकासमा सक्रिय हुने संकल्प समेत गरेका छन् । अन्य उम्मेदवारहरूले पार्टीको घोषणापत्रमा आधारित भएर लक्ष्य तथा विकासको कार्यक्रम ल्याएका छन् ।

उनलाई स्थानीयवासीले व्यापक समर्थन गर्न थालेपछि ठूला दलका उम्मेदवारहरू मात्र नभई मेयरका उम्मेदवारहरू समेत वडा नम्बर ८ मा केन्द्रित हुन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्