Logo

निर्वाचनपछि देश समृद्धिको बाटोमा : डा रिजाल



बगुवा (गोरखा), २७ वैशाख । नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले स्थानीय तहको निर्वाचनपछि देश समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको छ ।

गोरखाको भीमसेन गाउँपालिकाको बगुवास्थित लामाचौरमा आज भएको चुनावी सभामा बोल्दै रिजालले निर्वाचनपछि जनताले आफूले चुनेका जनप्रतिनिधिहरु पाउने बताउनुभयो ।

चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले काँग्रेसकै नेतृत्व र पहलमा गाउँसम्म सडक निर्माणदेखि बूढीगण्डकी जलविद्युत् आयोजनालगायतका ठूला विकास योजनाका काम सुरु भएको बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संविधानलाई अक्षरशः पालना तथा कार्यान्वयन गर्ने हो भने काँग्रेसको नेतृत्व आवश्यक पर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा भीमसेन गाउँपालिकामा काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार ईश्वर पाण्डे, उपप्रमुखका उम्मेदवार बिनु वाग्ले, प्रचारप्रसार समितिका संयोजक ठाकुरप्रसाद पुडासैनी, नेविसङ्घका सहमहामन्त्री प्रेमराज जोशीले काँग्रेसको नेतृत्वले मात्र विकास निर्माण अघि बढने दाबी गर्नुभयो ।

झडप रोक्न दुई राउण्ड हवाइ फायर
त्यसैगरी गोरखाको गण्डकी गाउँपालिका–८, घ्याल्चोक माझटारमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच आज साँझ एकापसमा भएको झडप नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायरिङ गरेको छ ।

प्रचारप्रसारमा हिँडेका दुई पार्टीका कार्यकर्ताबीच माझटारमा जम्काभेट हुँदा झडपको स्थिति आएको थियो । झडपलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाइ फायरिङ गर्नुपरेको जिप्रका, गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

आफूहरुको कोणसभा भइरहेको अवस्थामा काँग्रेस कार्यकर्ता आएपछि झडपको स्थिति पैदा भएको माओवादी केन्द्रका स्थानीय नेता तुलसी रेग्मीले बताउनुभयो । माओवादी केन्द्रले बाटो छेकेपछि झडपको स्थिति आएको काँग्रेस नेताहरुको भनाइ छ । घटनास्थलमा प्रनाउ थापाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्