एमालेजस्तो प्रतिगामी पार्टीसँग हामी चुनावी तालमेल गर्दैनौं : श्रेष्ठ


काठमाडौं, २५ जेठ । संघिय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आगामी असार १४ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा भाग लिनको लागि सबै नता कार्यकर्ता जनताको बीचमा पुगिसकेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली वहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन ।

सबै भेगमा पार्टीले उम्मेदवार खडा गर्ने बताउँदै श्रेष्ठले अग्रगामी पक्षधर सबैसँग चुनावि तालमेल गर्ने जानकारी दिए । पहिलो चरणको निर्वाचनमा नयाँशक्तिसँग मात्रै तालमेल गरेको जानकारी दिदै भने,‘पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नयाँ शक्तिसँग मात्रै चुनावी तालमेल गयौँृ, अब दोस्रो चराणको निर्वाचनमा नेपाली काँग्रेस,माओवादी केन्द्र, राजपा लगायत सबै दलसँग कार्यगत एकता गर्ने भनेका छौ, संविधान संशोधनको पक्षधरसँगै लोकतन्त्रका मूल्य र मान्यतामा अघि बढ्ने जो कोहीसँग तालमेल हुन्छ।’

त्यस्तै एमालेसँग तालमेल किन नगर्ने भनेर गरिएको प्रश्नमा सह–अध्यक्ष श्रेष्ठले भने,‘एमालेलाई हामीले मण्डलेको संज्ञा दिएका छौँ, सबै भन्दा बढि प्रतिगामी एमाले भैईरहेको छ, आफूलाई प्रगतिशिल भन्छ भने, आँखा नभएको नाम नयनबहादुर भने जस्तो हुन्छ, एमाले प्रतिगामी पार्टी हो।’

संविधान संशोधनको कामलाई निरन्तरतासँगै निर्वाचनमा भागलिने लक्ष्य लिएको संघिय समाजवादी फोरमले आमुल परिवर्तनको लागि पर्ने बताएको छ ।

न्यायालय र संसद बीचको दुरीलाई घटाउनु पर्नेमा श्रेष्ठको छ । सबै परिवर्तन सोचे अनुरुप प्राप्त नहुने र रुपान्तरित संसदमा दुइ तिहाई नभईकन संविधान संशोधन नहुने देखेपछि आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लिएर जनताको बीचमा जाने निर्णय लिएको बुभिएको छ ।

सम्पूर्ण क्रान्तिको बाटोमा हिंडेको फोरमले आलोचनात्मक रुपमा संविधान स्वीकार गरेर जनताको बीचमा उभिएको बताउँदै श्रेष्ठले राजपाको विषय आफ्नो पार्टीसँग नजोड्न आग्रह गरेका छन् ।

मधेशका मागहरू सम्बोधन गर्नको लागि अहिले सडक भन्दा जनताको बीचमा जानु उपयूक्त हुने श्रेष्ठले बताए ।