गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा बुढीगण्डकी नदीमा आएको बाढीले विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएपछि उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन गरिएको छ। बाढीका कारण पुल बग्नुका साथै घरहरूमा लेदोसहितको पानी पसेको र नदीको बहाव अझै बढिरहेको छ।
गृहमन्त्री सुदन गुरुङले प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकोप्टर परिचालन भइसकेको जानकारी दिएका छन्। उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न परिचालन गरिएको बताएका छन्।
गृहमन्त्री गुरुङका अनुसार चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बाढीले बगाएको छ। त्यसैगरी घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको छ। नदीको बहाव निरन्तर बढिरहेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।
बाढीबाट पैयू र बगर गाउँका करिब ३५ घर बगाएको चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिएकी छन्। उनका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरीलगायतका गाउँमा पनि व्यापक क्षति पुगेको छ। चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा समेत बाढीले ठूलो क्षति पुर्याएको उनले बताइन्।
स्थानीयका अनुसार आइतबार बिहान करिब ४ बजे बाढी बस्तीमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका थिए।
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सिर्दिबास तथा धार्चे गाउँपालिकाका विभिन्न बस्तीका बासिन्दालाई पनि सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार धार्चे क्षेत्रका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत तथा आरुघाट आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ।
यसैबीच, आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्न गृहमन्त्री गुरुङले आग्रह गरेका छन्। उनी प्रभावित क्षेत्रको अवस्था बुझ्न घटनास्थलतर्फ जाने तयारीमा रहेको जानकारी दिए ।
हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। बाढीबाट भएको भौतिक क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेकाले प्रभावित क्षेत्रको वास्तविक अवस्था थप स्पष्ट हुन सकेको छैन। उद्धार तथा राहत कार्य जारी रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।




प्रतिक्रिया