Logo

यसरी असफल बन्दैछन् प्रधानमन्त्री देउवा !



काठमाडौं, १९ असार । निकै कठिन मोडमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवा यतिवेला अर्को ठूलो संकटमा छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै तत्कालिन् प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खोल्नासाथ देउवाको प्रधानमन्त्रीकाल सकसपूर्ण छ भन्ने विश्लेषण चारैतिर भएको थियो ।

अहिले उक्त विश्लेषण देउवाकै कार्यशैलीका कारण पुष्टी हुँदै गएको छ । प्रधानमन्त्री देउवा असफलतर्फ उन्मुख हुुनुका धेरै कारणहरु छन् । ती मध्ये पहिलो कारण मन्त्रीमण्डल विस्तार गर्न नसक्नुलाई लिन सकिन्छ । देउवाले प्रधानमन्त्रीको पदभार ग्रहण गरेको करिब १ महिना बितिसकेको छ । तर, पहिलो चरणमा नियुक्ति गरिएका केही मन्त्रीबाहेक अरु विस्तार हुन सकेको छैन । मन्त्रीमण्डल विस्तार गर्न नसक्नुमा नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोलाई प्रमुख कारण मानिएको छ ।

देउवा नेतृत्वको मन्त्रीमण्डलमा नेपाली कांग्रेसले ११ मन्त्रालय पाउने सहमति भएको छ । ती ११ मन्त्रालयमध्ये कसलाई कुन मान्त्रालय दिने ? भन्नेमा मात्र होइन, पार्टीभित्र देउवा र रामचन्द्र पौडेल गुटबीच कसले कति मन्त्रालय पाउने ? भन्नेमा नै कुरा मिल्न सकेको छैन ।

प्रचण्ड नेतृत्वमा मन्त्रीमण्डल विस्तार हुँदा समेत देउवा र पौडेलबिचको विवाद सतहमा छताछुल्ल भएको थियो । अहिले पौडेल पक्षधर नेताहरुले आफ्ना पक्षका ५ जनालाई मन्त्रीमण्डलमा सहभागि गराउनुपर्ने बताउँदै आएका छन् भने देउवाले ४ वटा मन्त्रालय मात्र दिने बताएका छन् । जसका कारण पौडेल र देउवाबीचको मन्त्री संख्या सम्बन्धको विवादले मन्त्री रिषद् निर्माण नै प्रभावित बनेको छ ।

पौडेलबाहेक पार्टीभित्र तेस्रो शक्ति भनिएका कृष्णप्रसाद सिटौलाले पनि आफ्नो भाग खोजिरहेका छन् । यस्तै, देउवा गुटभित्रका पनि अन्य उपगुटलाई समेत मिलाउन गाह्रो देखिएको छ । प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आफ्नो तर्फबाट सबै मन्त्रालयको टुङ्गो लागइसक्दा समेत मन्त्रीमण्डल विस्तार हुन नसक्नुलाई नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो नै मुख्य कारण मान्न सकिन्छ । लामो समयसम्म पनि मन्त्रीमण्डललाई पूर्णता दिन नसक्नुले प्रधानमन्त्री देउवालाई असफल नबनाउला भन्न सकिदैन ।

प्रधानमन्त्रीको हैसियतले देउवाले जति सक्रियता देखाउनुपर्ने हो त्यो देखिएको छैन । खासमा देउवाको सल्लाहाकार टिम तथा सचिवालय नै असक्षम देखिएको छ । त्यसो त देउवाले यतिका दिन बितिसक्दापनि आफ्नो निजी सचिवालयलाई पूर्णता दिन सकेका छैनन् भने नीजी सल्लाहाकारले समेत उचित सल्लाह दिन नसकेको देखिन्छ ।

अर्को कुरा देउवाको आफ्नै निर्णय क्षमता समेत कमजोर देखिएको छ । पहिलो चरणको स्थानीय चुनावमा एमालेभन्दा पछि परेको कांग्रेस दोस्रो चरणको चुनावी नतिजामा पनि पहिलो हुन नसक्ने संकेत देखिएको छ । पछिल्लो पटकको संविधानसभा निर्वाचनमा मुलुककै पहिलो ठूलो पार्टी बनेको नेपाली कांग्रेस स्थानीय तहको चुनावमा दोस्रो हुनुलाई देउवाकै कमजोरी मानिएको छ । निर्वाचनमा उचित र योग्य उम्मेदवारलाई छनौट नगरी आफ्ना नजिकका मान्छेलाई देउवाले टिकट दिएको आरोप पार्टीभित्रै लाग्ने गरेको छ । निर्वाचनको नतिजाले पनि देउवालाई पार्टी नेतृत्वमा असफल बनाउन सक्छ ।

प्रधानमन्त्री पद सम्हालेपछि देउवाले मधेशी दललाई सहमतिमा ल्याएर दोस्रो चरणको निर्वाचनमामै प्रदेश नम्बर २ मा पनि चुनाव गराउन सक्नुपथ्र्यो । तर देउवाले प्रभावकारी कदम चाल्न नसक्दा प्रदेश नम्बर २ मा चुनाव हुन सकेन । आगामी असोज २ गतेका लागि तोकिएको उक्त प्रदेशको चुनावअघि देउवाले मधेशवादी दलले भनेझैँ गरी संविधान संशोधन गर्न सक्छन वा सक्दैनन् भन्नेमा आशंका कायम नै छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई समेत सहमतिमा ल्याएर संविधान संशोधन गराउनु देउवाको लागि ठूलै चुनौति छ । तर यो चुनौति पार लगाउन सकेनन् भने उनको प्रधानमन्त्री पद नै धरापमा पर्ने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्