चितवन । चाडपर्व नजिकिँदै गर्दा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ। असोज १ गतेदेखि नारायणगढमा सञ्चालनमा ल्याइएको सुपथ मूल्यको पसलमा बाहिर बजारको तुलनामा चाडपर्वका लागि आवश्यक खाद्यान्न सस्तो मूल्यमा बिक्री गरिएको छ।
लिमिटेडले बजारमा प्रतिकिलो रु १३० सम्म पर्ने चिनी रु १०० मा नै बिक्री गर्दै आएको छ। चिनीसँगै अन्य खाद्यान्न सामग्री सहुलियत दरमा बिक्री गरिएको कार्यालयका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए।
उनका अनुसार कार्यालयको सुपथ पसलबाट आयो नुन, चिनी प्रतिव्यक्ति छ किलोका दरले बिक्री गरेको छ। यस्तै, तेल, चिउरा, दाल, पिठो, मैदा प्रतिव्यक्ति पाँच लिटर र पाँच केजीका दरले बिक्री गरिएको छ । तेल, चिउरा, दाल, पिठो मैदामा प्रतिकिलो र लिटरमा रु सात छुट गरिएको छ।
कात्तिक मसान्तसम्म सञ्चालन हुने सुपथ मूल्य पसल सार्वजनिक बिदाको दिनबाहेक बिहान ९ः१५ बजेदेखि ४ः३० बजेसम्म सञ्चालन हुँदै आएको छ । पछिल्ला दिनमा उपभोक्ताको चाप बढ्दै गएको उनले बताए। सुपथ पसलबाट विभिन्न नौ प्रकारका खाद्यान्न सामग्री बिक्री गरिएको छ।




प्रतिक्रिया