राप्रपाका एक दर्जन सांसद अझै पूर्वराजा ज्ञानेन्द्रको नियन्त्रणमा, संविधान संशोधनबारे कमल थापा मौन !

0
Shares

काठमाडौं, २७ असार । संविधान संशोधन प्रस्ताव अघि बढाउने सरकारले तयारी गरिरहेको बेला संशोधन प्रस्तावको पक्षमा मत हाल्ने भनेर यसअघि नै निर्णय गरिसकेको राप्रपाभित्र यतिवेला खैलाबैला मच्चिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संशोधन प्रस्तावलाई यही हप्ताभित्रै सदनबाट पारित गराउने तयारी गरिरहेको बेला संसदमा ३७ सिट भएको राप्रपामा एक मत देखिएको छैन । राप्रपाभित्रको आन्तरिक किचलोको कारण यसअघिपनि संशोधन प्रस्तावको पक्षमा दुई तिहाई मत पुग्दासमेत संशोधन हुन सकेको थिएन ।

राप्रपाका सांसदहरुमा एकरुपता हुन नसक्नुको प्रमुख कारण पूर्वराजा ज्ञानेन्द्र शाह रहेको खुल्न आएको छ । राप्रपा स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रसँग राप्रपाका अहिलेपनि कम्तिमा पनि १० देखि १५ सांसदहरु कब्जामा रहेका छन् । पूर्वराजा निकट ती सांसदहरुले पार्टीको ह्विप समेत नमानेको अवस्थामा संशोधन प्रस्ताव अघि बढाउने वा नबढाउने भन्नेमा सत्तारुढ दल नै द्धिविधामा देखिएका छन् ।

एक दर्जन सांसदहरु आफ्नो नियन्त्रणबाहिर रहेकोले अध्यक्ष थापासमेत यतिवेला संशोधन प्रस्तावबारे अनिर्णयको बन्दी बनेका छन् । थापा निकट उच्च स्रोतका अनुसार संशोधन प्रस्तावको पक्षमा मत हाल्नेबारे राप्रपाभित्र अहिले एक मत देखिएको छैन् ।

यता पूर्वराजा ज्ञानेन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच पनि संविधान संशोधन प्रस्तावलाई असफल पार्नेबारे आन्तरिक साँठगाँठ भएको उच्च स्रोतले दाबी गरेको छ । पूर्वराजा शाहले ओलीलाई आफूले कुनैपनि हालतमा संशोधन प्रस्ताव पारित गर्न नदिने वचनवद्धता गरेका छन् ।