प्रधानमन्त्री देउवाले भने,‘ १० दिनभित्र निर्वाचन मिति घोषणा गर्छु’


काठमाडौं, २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादववीचको भेटवार्ता सम्पन्न भएको छ ।

सोमबार अपरान्ह भएको सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा भएको उक्त भेटवार्तामा प्रधानमन्त्री देउवाले सरकारले १० दिनभित्र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको विश्वास दिलाएका थिए ।

त्यस्तै प्रधानमन्त्री देउवाले आगामी भदौ १ गते भित्र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। निर्वाचन आयोगका पदाधिकारीहरुसँगको सामूहिक भेटमा उनले अबको १० दिन भित्रै प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी भईरहेको जानकारी दिएका हुन्।

भदौ १ गतेभित्र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री सहमत भएको प्रधानमन्त्रीसँगको भेटपछि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बताए।
त्यस अवसरमा निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाका लागि आवश्यक निर्वाचन कानुन र निर्वाचन क्षेत्र निर्धारणको काम छिटो सक्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको थियो।

निर्वाचन आयोगले आगामी मंसीर पहिलो हप्ता भित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुनेगरी सरकार समक्ष कार्ययोजनानै पेश गरेको छ।

आगामी माघ ७ गतेभित्र आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व छ। सोही दायित्व पूरा गर्न पनि आयोगले सरकारलाई निर्वाचनको मिति घोषणा गर्ने काममा ढिलाई नगर्न पटक–पटक आग्रह गर्दै आएको छ।