Logo

नेपालमा वर्षेनी एक खर्व रुपैयाँभन्दा बढि मूल्यको कृषिजन्य वस्तु आयात



साउन २७, काठमाण्डौ । नेपालमा वर्षेनी एक खर्व रुपैयाँभन्दा बढि मूल्यको कृषिजन्य वस्तु आयात हुने गरेको छ । दुई तिहाई नेपाली जनता कृषि पेशमा लागेको भए पनि पर्याप्त उत्पादन हुन नसक्दा कृषिजन्य वस्तु आयात हुने गरेको छ ।

कूल आयातमध्ये करिब ९० प्रतिशत कृषि उत्पादन भारतबाट मात्रै आउने गरेको छ ।
नेपालको कृषि क्षेत्र समय अनुसार परिवर्तन हुन सकेको छैन । नीतिगत सुधारको खाँचो एकातिर छ भने आधुनिक प्रविधिको प्रयोग अर्कोतिर । मौसमले साथ नदिएर कृषि उत्पादन प्रभावित हुने कुरालाई नकार्न सकिदैन । तर समयमा विउ विजन र मलको अभावका कारण समेत कृषि उत्पादन घट्ने गरेको छ । जसका कारण राष्ट्रिय माग पूरा हुन नसक्दा कृषिप्रधान मुलुक नेपालमा अन्य देशबाट कृषिजन्य वस्तु आयात हुने गरेको छ ।

गत आर्थिक वर्षमा मात्रै पौने दुई खर्ब रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ । दुईतिहाई जनता कृषि पेशामा निर्भर रहेको देशमा कृषिजन्य वस्तुको माग आन्तरिक उत्पादनले धान्न नसक्दा पौने दुई खर्ब रुपैयाँको कृषिजन्य सामान आयात भएको हो । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३–७४ मा १ खर्ब ७४ अर्ब ४७ करोड १९ लाख ९८ हजार रुपैयाँको कृषिजन्य सामग्री आयात भएको छ ।

अघिल्लो वर्षको तुलनामा यो १३ प्रतिशत बढी हो । अघिल्लो वर्ष १ खर्ब ५३ अर्ब ३० करोड २० लाख ९२ हजार रुपैयाँको कृषिजन्य सामग्री आयात भएको थियो । यस्तै, २०७१÷७२ मा १ खर्ब ३७ अर्ब ९९ करोड ८६ लाख २९ हजार रुपैयाँको कृषिजन्य सामग्री आयात भएको थियो । कृषिजन्य वस्तुको आयात बढ्दै गए पनि निर्यात भने न्यूनमात्र बढेको छ । छिमेकी मुलुक भारतबाट ९० प्रतिशत कृषिजन्य सामान आयात हुने गर्छ । माछा–मासु, दुग्धजन्य पदार्थ, खाद्यान्न, तरकारी, फलफूल, चिया, कफी, खाने तेल लगायतका अन्य कृषिजन्य वस्तु आयात हुने गरेको छ ।

सरकारले खाद्यान्नको आयात प्रतिस्थापन गर्न गत वर्षदेखि नै धानको मिसन कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी नहुँदा आयात बढ्दै गएको छ । त्यस्तै माछा, मासु, अण्डा र दूधमा आत्म निर्भर बन्ने सरकारको योजना अघि बढिरहेको छ । अर्कोतिर खेतीयोग्य जमिन खडेरीमा प्रयोग हुनु, खेती गर्ने जनशक्तिको अभाव, खानेबानीमा परिवर्तनले गर्दा पनि बर्से्नि चामल आयात बढ्दै गएको छ । ठूलो रकमको कृषिजन्य वस्तु आयात हुँदा समग्र व्यापार घाटा बढ्ने जाने गरेको छ । सरकार र राजनीतिक नेतृत्वले नेपालमा कृषि क्रान्ति गर्ने भनेर जतिसुकै चर्का कुरा गर्दै आए पनि अधिकांश कृषि उत्पादनमा देश झन्झन् परनिर्भर हुँदै गएको पाइन्छ ।

कतिपय क्षेत्रमा नीति नबनेका र बनेका नीति पनि कार्यान्वयन नहुने परिपाटीले र कृषकलाई निर्वाहमुखी कृषि प्रणालीबाट माथि उठाउन नसकेका कारण उत्पादनको सम्भावना भएका कतिपय कृषि उपजमा पनि आयात बढेको बढ्यै छ ।



प्रतिक्रिया दिनुहोस्