Logo

म पार्टी निर्णयको विपक्षमा छु, चुनावको बारेमा मलाई केही नसोध्नुहोस : झा



काठमाडौं, १६ भदौ ।राष्ट्रिय जनता पार्टीका शीर्ष नेता अनिल झाले आफु निर्वाचनको पक्षमा नभएको स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दैउनले भने,‘मैले सुरुदेखि नै निर्वाचनको विरोध गर्दै आएको छु, अहिलेपनि म निर्वाचनको पक्षमा छैन, यद्धपी पार्टीले निर्वाचनमा जाने निर्णय गरेको छ, म त यसबारेमा अल्पमतमा परेको मान्छे हुँ, बहुमत साथीहरुले निर्वाचनमा जानुपर्छ भनेर भन्नुभएकोले पार्टीले निर्वाचनमा जाने निर्णय गरेको हो।’

झाले चुनाव जानै हुँदैन भनेर आफूले पटक पटक पार्टीभित्र कुरा राखेको उल्लेख गर्दै यो चुनावबाट कति क्षति हुने हो भन्ने कुरा परिणामले देखाउने समेत बताए ।
झाले वर्तमान सरकारलाई दिएको समर्थन एक सेकेण्डपनि ढिलाई नगरी फिर्ता गर्नुपर्ने बताए ।

उनले भने,‘बाढि पीडितहरुको लागि राज्यले राहत त वितरण गर्यो, तर यो राहत चुनाव केन्द्रित राहत हो।’ उनले टेन्ट र चामलसँगै भोट माँग्नु लज्जास्पद भएको टिप्पणी गरे ।

उनले चुनाव जित्नको लागि तराईमा धमाधम राहत वितरण भैरहेको आफूले प्रत्यक्ष देखेर आएको समेत गुनासो पोखे । उनले थपे,‘लुट्न र मनपरी गर्ने काम भैरहेको छ, त्यसैले यो सरकारलाई समर्थन गरिरहनु अब एक सेकेण्डपनि औचित्य छैन।’

उनले तराईमा अहिले राहत लिनुछ भने रुखमा भोट हाल्नुहोस वा हँसिया हथौडामा भोट हाल्नुहोस् भन्ने काम सरकारमा बस्ने दलहरुले गरिरहेको समेत आरोप लगाए ।

उनले आफूहरुको एजेण्डालाई कांग्रेस र माओवादी केन्द्रले बाढिसँगै बगाउने काम गरेको समेत आरोप लगाए । उनले थपे,‘सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले प्रस्ताव पास गराउन पर्याप्त गृहकार्य नै गरेका थिएनन्, यो प्रस्ताव तुहाउनको लागि ल्याईएको थियो।’



प्रतिक्रिया दिनुहोस्