Logo

वीरगंज महानगरमा महाभिडन्तः उद्योगपतिदेखि पूर्वसांसदसम्म मैदानमा, मनी र मसलको प्रयोग हुने



भदौ १८, काठमाण्डौ । प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा सबैभन्दा चर्चित बनेको छ वीरगंज महानगरपालिका । तेस्रो चरणको चुनावमा सबैभन्दा महत्वपूर्ण र ठूलो निकायका रुपमा वीरगंज महानगर भएकाले यसमा कसले जित्ने भन्नेमा चासो बढ्दै गएको छ ।
वीरगञ्ज पछिल्लो समय मधेश आन्दोलनको केन्द्रविन्दुका रुपमा चर्चित छ । मधेश आन्दोलनले केकति उपलब्धी पायो भन्ने कुरा त्यस क्षेत्रका जनताले अनुभूति गर्न पाएका छैनन् ।
गणतन्त्र स्थापनायता तराई मधेशमा तीन पटक आन्दोलन भइसकेको छ । पछिल्लो पटकको आन्दोलनमा त करिब ६ महिना वीरगञ्जलगायत नाका ठप्प बने । जसले गर्दा त्यहाँको विकास निर्माण र आर्थिक गतिविधि प्रभावित बन्यो । अहिले वीरगञ्ज महानगरपालिका मेयरको खोजीमा छ । दलहरु मेयर छान्नका लागि मरिमेटेर लागेका छन् । तर अन्तिम छिनोफानो जनताले नै लगाउने हो ।
यस्तो छ वीरगंज महानगरपालिका
प्रदेश नं. २ को एक मात्र महानगरपालिका वीरगञ्ज भएकाले पनि दलहरु प्रतिष्ठाको विषय बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
वीरगंज महानगर तीन महिनाअघि उपमहानगरबाट महानगरपालिकामा बढुवा पाएको हो । त्यसैले प्रमुख पार्टीहरु र मधेशकेन्द्रित दलहरु यो महानगर कब्जा गर्न आफ्नो सम्पूर्ण शक्ति प्रयोगमा छन् ।
महानगरमा ३२ वटा वडा छन् । महानगर बनेपछि दोब्बर मतदाता थपिएका छन् । कुल मतदाता एक लाख आठ हजार पाँच सय एक छन् । आर्थिक नगरसमेत भएका कारण यहाँको अर्थ राजनीति निकै महत्वपूर्ण हुने गरेको छ । विशेष गरी कांग्रेस, एमाले, राजपा र फोरम नेपाल वीरगञ्जको मेयर जित्ने दौडमा लागेका छन् ।
इतिहास यस्तो छ
दोस्रो संविधानसभामा पर्सा क्षेत्र बाट कांग्रेसका राजेन्द्र अमात्य र २ बाट एमालेका बिचारी यादव विजयी भएका थिए । ती दुवै क्षेत्र अहिले महानगरभित्र पर्छन् । कांग्रेसले जितेको क्षेत्रमा एमाले नभई हालको राजपा प्रतिस्पर्धामा थियो । यस्तै, ०४९ को निर्वाचनमा वीरगञ्जको मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो । ०५४ को स्थानीय निकायको निर्वाचनमा भने विमलप्रसाद श्रीवास्तवले नेतृत्व गरेको स्वतन्त्र समूहले मेयरलगायत १९ मध्ये अधिकांश वडामा जीत हासिल गरेको थियो । त्यसबेला कांग्रेसले सात र एमालेले ६ वटा वडामा जितेका थिए ।
०५४ को स्थानीय निर्वाचनमा एमाले तीन, कांग्रेस आठ, राप्रपा तीन र अन्य दल दुई गाविसमा विजयी भएका थिए ।
अहिलेको अवस्था यस्तो छ
संविधान जारी भएपछि पहिलो पटक हुन गइरहेको स्थानीय तहको निर्वाचनमा विगतझैं कांग्रेस र एमालेसँगै मधेसकेन्द्रित राजपा र फोरम नेपाल पनि थपिएका छन् ।
केही समयअघि मधेशकेन्द्रित ६ वटा दल एक भएर राजपा गठन भयो । उक्त गठबन्धनभन्दा बाहिर रहेको फोरम नेपाल पनि संगठन सदृढीकरणका साथै एमाले र कांग्रेसका कार्यकर्तालाई पार्टी प्रवेश गराउने अभियानमा नै छ । जसले पनि कसको पक्षमा कति मत जान्छ भनेर अनुमान गर्न कठिन छ ।
अर्कोतिर सबैजसो दलभित्र उम्मेदवार चयनमा समस्या देखिएको छ । आकांक्षी धेरै भएकाले उम्मेदवार चयन राम्रोसँग गर्न नसके पार्टीभित्रकै कार्यकर्ताले चुनाव हराउने डर सबै दलमा छ । यता मधेशकेन्द्रित दलले नेकपा एमालेविरुद्ध प्रचारबाजी गरेकाले त्यसको फाइदा कांग्रेसलाई फाइदा पुग्ने अनुमान गरिएको छ ।
यद्यपी उम्मेदवार चयनमा सबैभन्दा बढि सकस कांग्रेसलाई नै छ ।
उम्मेदवार यस्ता छन्
महानगरपालिकाको मेयरको उम्मेदवार सबैभन्दा पहिला एमालेले टुंग्यायो । एमालेले तीन महिनाअघि माओवादी केन्द्र छाडेर आएका बसरुद्दिन अन्सारीलाई उम्मेदवार बनाएको छ ।

बसरुद्दिन अन्सारी

करिब ३० हजार मुस्लिम समुदाय भएकाले एमालेले सोही समुदायका उम्मेदवार उठाएर चलाखी गरेको छ ।
कांग्रेसले पूर्वसभासद तथा जिल्ला सभापति अजयकुमार द्विवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।

अजयकुमार द्विवेदी

वीरगञ्ज उपमहानगरपालिकाको उपमेयर भइसकेका द्विवेदी पहिलो संविधानसभामा पर्सा २ बाट विजयी भएका थिए । उनी दोस्रो संविधानसभाको निर्वाचनमा सोही क्षेत्रबाट एमालेका बिचारी यादवसँग पराजित भए ।

माओवादी केन्द्रले ३१ वर्षीय रहबर अन्सारीलाई मेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रको जिल्ला सदस्य तथा केन्द्र निकट मुस्लिम मोर्चाका केन्द्रीय सदस्य हुन् उनी ।

रहबर अन्सारी

विदेशबाट अध्ययन गरी फर्किएका अन्सारी गण्डक अस्पतालका निर्देशक हुन् ।
फोरम नेपालले पाँच महिनाअघि पार्टी प्रवेश गराएका व्यापारिक घराना सरावगी गु्रपका अध्यक्ष विजय सरावगीलाई मेयरको उम्मेदवार बनाएको छ ।

विजय सरावगी

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेका सरावगी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।
राजपाले चुनावको आन्तरिक तयारी धेरै पहिलेदेखि गरे पनि गत साता मात्र चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेर उम्मेदवार छनोट शुरु गरेको छ । राजपाका महासचिवद्वय विमलप्रसाद श्रीवास्तव र राजेशमान सिंहले मेयरमा सशक्त दाबेदारी गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्