Logo

८८ किलो सुन बरामदसम्बन्धमा एआइजी जयबहादुरचन्दसँगको विशेष कुराकानी : प्रमुख पात्रहरु छिटै पत्ता लागाउने दाबी



भदौ २०, काठमाण्डौ । नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक एआइजी जयबहादुर चन्दले विगतमा पनि ठूलो परिमाणमा सुन बरामद भएको र अहिले ८८ किलो सुन बरामद त्यसैको निरन्तरता भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै तस्कर आफैँले सुन बोकेर नआउने भएकाले सहजै तस्कर पक्राउ गर्न नसकिएको चन्दले बताएका छन् । अहिले सुन भरिया मात्रै पक्राउ परेकाले अनुन्धानपछि तस्करका मुख्य नाइके समातिने चन्दको दाबी छ ।

ड्राइभरलाई मात्र हिरासतमा लिएका नेपाल प्रहरीले छिटै तस्करको नाइके पनि पक्राउ गर्ने चन्दको दाबी छ । अनुसन्धानको प्रक्रिया सुरु भइसकेको जानकारी दिदै चन्दले भनेका छन्, “प्रारम्भिक सुचनाका आधारमा सुन बरामद गरिएको हो । ठमेल एरियामा सुन राखिएको गाडि छ भन्ने सुचना आएपछि प्रहरीले गाडिको खोजी गरेको थियो ।”
गाडि फेला परेपछि त्यसको ड्राइभरलाई निगरानी गरेर पक्राउ गर्न सफल भएको हो । “पछि गाडि सर्च गर्दा सुन भेटिएको हो ।” चन्दले भने ।
ड्राइभर प्रहरी कष्टडीमा भएको र अब ड्राइभरबाट नै अनुसन्धान गरेर तस्करसम्म पुगिने चन्दले दाबी गरेका छन् । सबै कुरा अनुसन्धानभित्रै रहेको बताउँदै चन्दले ४४ करोडको सुन तस्कर गर्नेले ब्ल्याक मनीलाई जोगाउनका लागि सुनमा लगानी गरेको हुनसक्ने आशंका गरेका छन् ।
“तस्करको पछाडि कुन संजाल छ, त्यसलाई हामी खोजेरै छाड्छौँ । यसका प्रमुख पात्रहरु छिटै पत्ता लागाउँछौँ ।” चन्दको प्रतिबद्धता छ ।
सुचना लिने क्रम जारी रहेको र तस्करको पहिचानका लागि टोली परिचालन भइसकेको चन्दले जानकारी दिएका छन् । २, ४ दिनभित्रमा पहिलो रिपोर्ट सार्वजनिक गर्ने प्रतिवद्धता चन्दले व्यक्त गरेका छन् ।

कपडा व्यापारको नाममा होस् वा विद्युतीय सामग्री ल्याउने नाममा सुन तस्कर गरेको हुन सक्ने आशंकासमेत गरिएको छ । “सुन तस्करमा कुन कुन व्यापारी संलग्न छन्, त्यस्ता अपराधिहरुलाई छिटै सार्वजनिक गछौँ ।” चन्दले भने । चिनसँगको नाका केरुङबाट सुन भित्रिएको आशंका प्रहरीले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्