Logo

दुनियाँको कुनै पनि तागदले अब एमालेलाई पहिलो पार्टी हुनबाट रोक्न सक्दैन, मंसिरको अन्तिममा बहुमतको सरकार बनाउँछौं : पाण्डे



काठमाडौं, २० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले २ नम्बर प्रदेशको चुनावमा पहिलो हुनबाट एमालेलाई दुनियाँको कुनै शक्तिले रोक्न नसक्ने दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पाण्डेले भने,‘यसअघिका दुई चरणका निर्वाचनमा पनि एमाले पहिलो भैसकेको छ, अबको निर्वाचनमा पनि पहिलो हुने आधार भनेको यही हो, २ नम्बर प्रदेशमा पनि हामी पहिलो हुन्छौं, दुनियाँको कुनैपनि अदृश्य शक्तिले अब हाम्रो पार्टीलाई पहिलो हुनबाट रोक्न सक्दैन्।’

एमालेलाई आफ्नो मत दिएर पहिलो शक्तिको रुपमा स्थापित गराउन जनता आँतुर रहेको उल्लेख गर्दै उनले भने,‘एमालेलाई जिताउन जनता आँतुर छन्, २ नम्बर प्रदेशको निर्वाचनमा मात्रै होईन, प्रदेश र केन्द्रिय संसदको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पाण्डेले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो पार्टीले बहुमत सिट संख्या ल्याउने दाबी गरेका हुन् । उनले भने,‘दुनियाँको कुनै तागदले रोक्न सक्दैन्, ०७४ को मंसिरको अन्त्यतिर एमालेले बहुमतको सरकार बनाउँछ।’

नेता पाण्डेले राजमार्गको छेउमा एमालेले अत्यधिक बहुमत हाँसिल गर्ने देखेर डराएर कांग्रेस र माओवादी केन्द्रले तालमेल गर्ने तयारी गरेको आरोप लगाए ।

उनले थपे,‘जो जो मिलेपनि ती क्षेत्रमा पनि एमालेले एक्लैले अत्यधिक बुहमतका साथ जित्छ।’ अदृश्य शक्तिको दबाबमा कांग्रेस–माओवादी केन्द्रले चुनावी तालमेल गरेपनि एमाले दुई पार्टीले तालमेल गरेको ठाउँमा पनि एमाले पराजित नहुने उनले ठोकुवा गरे ।

त्यस्तै उनले जनता र राष्ट्रको हितमा काम गर्ने राजनीतिक दलहरुसँग तालमेल गर्न आफ्नो पार्टी सँधै तयार रहेको बताए । उनले भने,‘कांग्रेससँगपनि तालमेल हुनसक्छ, तर वेभलेन्थ मिल्नुपर्यो नि।’ उनले २ नम्बर प्रदेशको निर्वाचनको लागि पार्टीले सबै ठाउँमा उम्मेद्धवार टुँगो लगाईसकेको समेत जनाए ।

पण्डेले सुन तस्करीमा कसको संलग्नता छ त भनेर सोधेको एक प्रश्नमा उनले भने,‘तस्करी, भ्रष्टाचारीहरुको जालो अहिले मौलाएको छ, अहिले त नेपाललाई विदेशीहरुले पनि तस्करको अखडा भनेर सोचेका होलान्, लाजमर्दो स्थिति छ, सरकारमा को छ र?’ उनले कांग्रेसको सरकार बन्दा ठूला ठूला भ्रष्टाचारीहरुले प्रशय पाएको समेत आरोप लगाए । उनले थपे,‘एमालेको एक जना नेता भ्रष्टाचार गरेको अभियोगमा जेल परेको देखाउनुहोस् त, तर कांग्रेसका हेर्नुहोस्।’



प्रतिक्रिया दिनुहोस्