Logo

१८,२०० को उम्मेदवारी दर्ता, दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न



काठमाडौं , २१ भदौ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य आज उत्साहजनक र शान्तिपूर्णरुपमा भएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला, दलितलगायत उम्मेदवारले उत्साहपूर्वक मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

साँझ ६ः३० बजेम्म तेस्रो चरणमा निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमा १८ हजार २०० को उम्मेदवारी परेको विवरण आयोगमा प्राप्त भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । मनोनयन दर्ताको विवरण आउने क्रम जारी नै रहेकाले यकिन संख्या आउन बाँकी छ ।

 

 

 

वीरगन्ज महानरपालिकाको स्थानिय तह निर्वाचनमा अध्यक्ष÷ उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गराउन वीरगन्जको राधेमाईटोलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार पुगेका संघीय समाजवादी फोरम नेपाका उम्मेदवार बिजय सरावगी र पिन्की यादव । तस्वीर ः विजय कुमार महतो ÷रासस ÷ पर्सा

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिए पनि उम्मेदवारको अत्यधिक सहभागिताका कारण अपराह्न ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनेको बाक्लो उपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ ।

कतिपय मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा साँझ अबेरसम्म पनि उम्मेदवारी दर्ता गर्नेहरुको लाम रहेको आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट जानकारी प्राप्त भएको थियो ।

 

वीरगन्ज महानरपालिकाको स्थानिय तह निर्वाचनमा अध्यक्ष पदकालागि मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय तर्फ जान्दै नेकपा एमालेका उमेदवार बसरुद्दिन अंसारी लगायतका नेता कार्यकर्ताहरु । तस्वीर ः विजय कुमार महतो ÷रासस ÷ पर्सा

वीरगन्ज महानरपालिकाको स्थानिय तह निर्वाचनमा अध्यक्ष पदकालागि मनोनयन दर्ता गराउन वीरगन्जको राधेमाईटोलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार पुगेका राजपा नेपालका उमेदवार राजेशमान सिंह संचारकर्मीहरुलाई प्रतिकृया दिदै । तस्वीर ः विजय कुमार महतो ÷रासस ÷ पर्सा

वीरगन्ज महानरपालिकाको स्थानिय तह निर्वाचनमा अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्न वीरगन्जको राधेमाईटोलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार पुगेका नेपाली काँग्रेसका उमेदवार अजय कुमार द्विवेदी । तस्वीर ः बिजय कुमार महतो ÷रासस ÷ पर्सा

राजविराजस्थित शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा मनोनयन दर्ता गर्दै राजनैतिक दलका मेयर तथा उपमेयरका उमेदवारहरु । तस्बिर: अरुण कुमार यादव, राजविराज, रासस

मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समय ५ बजेभित्र प्रवेश गरिसकेका उम्मेदवारको उम्मेदवारी दर्ता कार्य साँझ अबेरसम्म पनि सञ्चालन हुने आयोगले जानकारी दिएको छ ।

यकिन विवरण आइनसकेकाले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जस्तै यो निर्वाचनमा पनि व्यापक उम्मेदवारी परेको प्रारम्भिक अनुमान गरिएको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचन एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा हुँदैछ । यो निर्वाचनबाट छ हजार ६२७ प्रतिनिधिहरु निर्वाचित हुनेछन् ।

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारलाई यही भदौ २४ गते निर्वाचन चिह्न प्रदान गरिनेछ ।

मुलुकका सात प्रदेशका ७७ जिल्लाका ७५३ मध्ये पहिलो चरणमा गत वैशाख ३१ गते २८३ तथा दोस्रो चरणमा ३३४ स्थानीय तहको निर्वाचन भइसकेको छ । स्थानीय सरकार गठनका लागि भइरहेको स्थानीय तहको निर्वाचन पूरा भएपछि संविधान कार्यान्वयनको एउटा खुड्किलो पार हुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्