Logo

देउवा र प्रचण्ड भारतसामु लम्पसार परे : माधव नेपाल



“एमालेलाई मधेशमा निषेध गर्न कोही जन्मिएकै छैन, हेर्दैजानुहोला २ नम्बर प्रदेशमा हामी पहिलो पार्टी बन्छौं”
बर्दिवास, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतसामू लम्पसार परेको आरोप लगाएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले महोत्तरीको बर्दिवासमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने,“देउवा र प्रचण्ड दुवै भारतसामू लम्पसार परेका छन्, यो कुरा सारा नेपाली जनताहरुलाई राम्रोसँग थाहा छ।”

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता नेपालले आफ्नो पार्टी संघीयता पक्षधर भएको बताउँदै भने,“हामी संघीयता पक्षधर हौं, हाम्रो पार्टी कुनैपनि हालतमा मधेश विरोधी होईन, हेर्दै जानुहोला २ नम्बर प्रदेशमा पनि एमाले एक नम्बर पार्टीे बन्छ ।”

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले मधेशमा एमालेलाई निषेध गर्न कोही अहिलेसम्म नजन्मेको समेत दाबी गरे । उनले भने,“कुनै शक्तिले वा तागतले पनि मधेशमा एमालेलाई निषेध गर्न सक्दैन, र जन्मिएको छैन । म नै हुँ मधेशका असली धर्तीपुत्र, मधेशको विकास र समृद्धिको लागि एमालेले जति अरु कुनै पार्टीले काम गरेको भए हामीलाई देखाईदिए हुन्छ।”
उनले २ नम्बर प्रदेशको चुनाव जितेपछि प्रदेशमा पनि एमाले नै सरकार बनाउने उल्लेख गर्दै भने,“२ नम्बर प्रदेशको चुनावमा पनि एमालेले बाजी मार्छ, एमाले पहिलो पार्टी बन्छ, बन्छ, बन्छ, यसमा कुनै दुईमत छैन।”

यस्तो नेता नेपालले केही मधेशी नेताहरुले विदेशीको प्रभावमा परेर संविधान संशोधन प्रस्ताव ल्याएको समेत आरोप लगाए ।

तर एमालेले प्रस्तावको विपक्षमा भोट हालेकोले संशोधन प्रस्ताव पारित हुन नसकेको भनेर भनिएको छ नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,“यो प्रश्न उपेन्द्र यादवलाई सोध्नुहोस, उहाँको पार्टीले पनि विपक्षमा भोट हालेको हो, यादवजीलाई सोध्नुहोस्।”

त्यस्तै उनले पार्टीभित्र अहिले विवाद नभएको समेत स्पष्ट पारे । उनले भने,“हामी अहिले चुनावी मैदानमा छौं, पार्टी पूर्ण रुपमा एक ढिक्का छ।”

उत्तर कोरियाको भ्रमणबारे प्रकाश पार्दै उनले भने,“पार्टीलाई निमन्त्रणा आएको हाईन, माधव नेपाललाई आएको हो, त्यसैले म गएको हुँ ।” आफू शान्ति, समन्वय र सद्भाव फैलाउन उत्तर कोरिया गएको उनको भनाई थियो ।

त्यस्तै उनले पत्रकार धमला मधेशमा चुनावी अभियान लिएर आएको भन्दै बधाई दिए । उनले थपे,“अहिले मधेशमा ऋषिजीको मात्रै चर्चा छ, उहाँ चुनावी अभियान लिएर मधेश झर्नुभएको छ, उहाँले हरेक ठाउँमा विशेष साक्षात्तकार चलाउनुभएको छ, तपाईलाई म पनि धन्यवाद दिन चाहन्छु ।”

क्लबका सभापति ऋषि धमलाले चुनावी अभियान लिएर आफू मधेश झरेको बताउँदै चुनाव स्वच्छ, शान्तिपूर्ण र स्वतन्त्र रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिए । त्यस्तै उनले निर्वाचन आचारसंहिता समेत सबे दलहरुले पालना गर्नुपर्ने बताए । जनता मतदान गर्न आँतुर रहेकोले चुनावपछि मधेशमा विकास र समृद्धिको बहार आउने उनको विश्वास थियो ।



प्रतिक्रिया दिनुहोस्