Logo

अबको मुलुकको यात्रा समृद्धिका लागिः नेता नेपाल



बर्दिवास, २५ भदौ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अबको मुलुकको यात्रा समृद्धिका लागि हुने बताउनुभएको छ ।

महोत्तरी जिल्लाका विभिन्न गाउँबस्तीमा आयोजित सभा र घरदैलो कार्यक्रममा सहभागिता जनाउँदै उहाँले सो कुरा बताउनु भएको हो । बर्दिवास–९, पशुपतिनगरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता नेपालले संविधानमा केही कुरा थपिनु पर्ने, स्पष्ट पारिनु पर्नेसम्मका कुरामा एमाले अनुदार नरहेको स्पष्ट पार्नुभयो ।

“अहिले संविधान संशोधनका नाउँमा निकालिएका कुरा सबै बखेडा हुन्”–उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन र अभ्यास गरिँदै जाँदा थप्नुपर्ने र हटाउनुपर्ने विषय देखिए एमाले समूचित सुधारका लागि सधैँ खुला छ ।”

प्रचूर सम्भावना रहेर पनि इच्छाशक्ति र समृद्धिको योजना ल्याउन नसक्दा मुलुक पछिपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समृद्धि अबको हाम्रो संकल्प हुनुपर्छ, यसका लागि तन्नेरी हातहरुको क्रियाशीलता र सरकारको इमान्दार प्रयत्नको खाँचो छ ।” यद्यपी सरकारको तर्फबाट इमान्दार प्रयत्न एमाले नेतृत्वको सरकारबाट मात्र हुनसक्ने उहाँको भनाइ थियो ।

नेता नेपालले आजै बर्दिवास–५, किसाननगर, बर्दिवास–९ पशुपतिनगर, भंगाहा–४ रामनगर, भंगाहा–५, सीतापुरबजार, औरही नपाको औरहीबजार र गौशालाबजारमा घरदैलो कार्यक्रममा सहभागी हुँदै ती ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नु भएको थियो ।

यसैगरी, एमाले उपाध्यक्ष भीमबहादुर रावलले बर्दिवास–१ स्थित बर्दिवासचोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै मुलुकको समृद्धि, लोकतन्त्रको संस्थागत विकास, संविधान कार्यान्वयन र सुशासनको अनुभूति जनतालाई दिलाउनु दलहरुको प्राथमिकता हुनुपर्ने बताउनुभयो । रासस
––––––––



प्रतिक्रिया दिनुहोस्