Logo

मलंगवा नगरपालिकाको चुनावी बहसमा मेयरका उम्मेद्धवार भन्दा धमलाको ‘क्रेज’ चुलिँदो



आफूले जित्ने यस्तो छ मेयरका उम्मेद्धवारहरुको दाबी
सर्लाही (मलंगवा), २५ भदौ । सर्लाहीको मलंगवा नगरपालिकाका मेयरका उम्मेद्धवारहरुले आफूले जितेमात्रै यहाँको विकास हुने दाबी गरेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपाल मलंगवा शाखाले आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै मेयरका उम्मेद्धवारहरुले यस्तो दाबी गरेका हुन् ।

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख दल नेपाली कांग्रेसबाट मेयरका उम्मेद्धवार बनेका निश्चल साहले आफू मेयर बने यहाँको समग्र विकास गर्ने प्रतिबद्धता जनाए ।

साहले आफू ०४९ सालमा उक्त नगरपालिकाको उपमेयर भएको उल्लेख गर्दै त्यतिवेला जनताको काम र आर्थिक समृद्धिको लागि काम गर्न नपाएकोले अब मेयर बने यहाँको मुहार फेर्ने आफ्नो धोको रहेको सुनाए ।

त्यस्तै नेकपा एमालेबाट मेयरका उम्मेद्धवार बनेका देवेन्द्र रायले मलंगवा ०४४ सालमै नगरपालिका बनेपनि अहिलेसम्म विकासको हिसावले नगरपालिका भैनसकेको गुनासो पोखे । उनले थपे,‘यहाँ अहिले गुण्डाराज चलिरहेको छ, म मेयर बने भने यहाँ विकासको लहर ल्याउनेछु, गुण्डाराजको अन्त्य गर्नेछु।’

तर उनले यसो भनिरहँदा कार्यक्रममा सहभागी नगरवासीहरुहरुले भने उनी लगायत बोल्ने वक्ताहरुको विरोध गर्दै सबै उम्मेद्धवारहरुलाई दलालको संज्ञा दिए ।

त्यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मेयरका उम्मेद्धवार मोहम्मत शमशुल हकले आफ्नो प्रमुख एजेण्डा भनेको नै मलंगवालाई ‘स्मार्ट सिटी’ बनाउने रहेको बताए ।

त्यस्तै उनले मलंगवा हरेक हिसावले सम्पन्न नगरपालिका भएकोले यसलाई ग्रिन सिटीको रुपमा समेत विकास गर्ने आफ्नो योजना सुनाए ।
उनले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा मुलुकको आर्थिक वृद्धि ईतिहाँसमै धेरै वृद्धि भएको उल्लेख गर्दै माओवादीले मुलुकको विकासको लागि धेरै काम गरेको स्पष्ट पारे ।

उनले थपे,‘त्यसैले मुलुकको विकास गर्नको लागि पनि देशव्यापी रुपमा माओवादीले जित्नुपर्छ, मधेशमा पनि माओवादीप्रति अहिले जनलहर छाएको छ, हामी अत्यधिक बहुमत ल्याएर जित्छौं।’

त्यस्तै राजपा नेपालका मेयरका उम्मेद्धवार नागेश्वसर रायले मलंगवा स्रोत र साधनले भरिपूर्ण नगरपालिका भएपनि अहिलेसम्म विकास हुन नसक्नुको प्रमुख कारण भ्रष्टाचार भएकोले आफूले यसलाई जसरी पनि रोक्ने लक्ष्य लिएर मैदानमा उत्रिएको बताए ।

स्वतन्त्र उम्मेद्धवार प्रेम श्रेष्ठले आफू राजाको पालामा २ महिना १७ दिन यस नगरपालिकाको मेयर बनिसकेको उल्लेख गर्दै त्यतिवेला काम गर्न नपाएकोले अब जिते काम गरेर देखाउने वचन दिए ।

श्रेष्ठले थपे,‘विगतमा मेयर भएपनि काम गर्न सकिएन, अब जितेंभने जनतालाई भित्रैबाट महशुस दिलाउनेगरि काम गर्नेछु, यहाँको विकासको लागि म विगतदेखि नै सक्रिय भएर लागिपरिरहेको छु।’

अर्का स्वतन्त्र उम्मेद्धवार पुष्प रञ्जितकारले विकास, समृद्धि र जनताको जीवनस्तर उकास्नको लागि आफ्नो उम्मेद्धवारी भएको बताए । त्यस्तै उनले मलंगवामा भ्रष्टाचार शुन्य सहनसिलतामा छार्ने समेत प्रतिबद्धता जनाए ।

कार्यक्रममा पत्रकार ऋषि धमलाको भाषण सुन्न दशौं हजार नगरवासीहरुले ‘हुटिङ’ गरेका थिए । धमलालाई उनीहरुले बेलाबेलामा तराई–मधेश पनि आईरहनको लागि आग्रह समेत गरे ।

चुनावी अभियान लिएर केही दिनदेखि मधेशमा रहेका पत्रकार धमलालाई सर्वसाधरणदेखि जिल्लाका प्रभावशाली नेताहरुले घेरिरहेका छन् । उनको ‘क्रेज’ देशका मन्त्री तथा प्रधानमन्त्री भन्दा कम नदेखिएको उनीसँगै कार्यक्रममा सहभागी भएका एक पत्रकारले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्