Logo

राजविराज नगरपालिकाका मेयरका उम्मेद्धवारहरुका एजेण्डा : मच्छड हटाउनदेखि स्मार्ट सिटी बनाउनेसम्म



राजविराज, २६ भदौ । सप्तरीको राजविराज नगरपालिकाका मेयरका उम्मेद्धवारहरुले उक्त नगरपालिकाको विकासका लागि सार्वजनिक प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनीहरुले अघि सारेका प्रतिबद्धताहरुमा राजविराजमा मच्छड हटाउनेदेखि शहरलाई स्मार्ट बनाउनेसम्म रहेका छन् ।

सोमबार सप्तरीको राजविराजमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मेयरका उम्मेद्धवारहरुले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । प्रमुख दल नेपाली कांग्रेसका मेयरका उम्मेद्धवार ध्रुव प्रसाद देवले आफू विजयी भए राजविराजलाई स्मार्ट सिटी बनाउने योजना सुनाए । त्यस्तै उनले राजविराजलाई फोहोरमैलामुक्त शहर बनाउने समेत प्रतिबद्धता जनाए ।

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सामाजिक सुरक्षाको पूर्ण प्रत्याभुति गराउनेदेखि लिएर शिक्षा, स्वास्थ्य र खेलकुदको समेत पर्याप्त विकास गर्नेमा जोड दिए ।

त्यस्तै नेकपा एमालेका मेयरका उम्मेद्धवार सुखराम यादवले १०१ दिनमा गर्ने र पाँच वर्षमा गर्नेगरि छुट्टाछुट्टै प्रतिबद्धताहरु सार्वजनिक गरेका थिए । उनको पहिलो प्राथमिकतामा कृषिको विकास गर्ने र कृषिजन्य उद्यमको लागि ५० प्रतिशतसम्मको छुटको व्यवस्था गर्ने रहेको छ । यादवले नदि नियन्त्रणको योजना समेत सुनाए ।

उनले उक्त नगरवासीहरुको लागि एम्बुलेन्सको व्यवस्था गर्ने, शव बाहनको व्यस्था निशुल्क गर्ने लगायतका सार्वजनिक प्रतिबद्धता जनाए । त्यस्तै उनले राजविराजका ८ वटै हाटबजारलाई व्यवस्थित् गर्ने पनि विश्वास दिलाए ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मेयरका उम्मेद्धवार एवम् पुर्वमन्त्री तथा पूर्व मेयर अनि अन्सारीले २० वर्षपछि चुनाव भैरहेकोले आफू विजयी भए यहाँको विकासको लागि उल्लेखनीय काम गर्ने भन्दै योजनाका फेहरिस्त नै पस्किए ।

उनले पनि राजविराजलाई ग्रिन सिटी बनाउने उद्धघोष गरे । रमाईलो त के भने उनले राजविराजलाई मच्छडमुक्त शहर बनाउने समेत घोषणा गर्न भ्याए । अन्सारी ०३९ सालमा राजविराजको मेयर बनेका थिए ।

त्यस्तै कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका मेयरका उम्मेद्धवार भीमराज यादवले आफूले जिते नगरवासीहरुको नोकर भएर काम गर्ने विश्वास दिलाए । त्यस्तै उनले राजविराजका सम्पूर्ण सडक सञ्जालहरुको स्तरोन्नती गर्नेदेखि लिएर कच्ची सडक पीच गर्ने समेतको सार्वजनिक प्रतिबद्धता जनाए ।

त्यस्तै उनले राजविराजलाई ‘फ्रि–वाईफाई’ शहर बनाउने समेत घोषणा गरे । त्यस्तै कृषि उपकरणको खरिदमा ५० प्रतिशत निःशुल्कको व्यवस्था गर्ने, वृत्ता भक्ता ५ हजार पुर्याउने र सिँचाईको लागि विजुलीको व्यवस्था गर्ने लगायतका घोषणाहरु समेत उनले सार्वजनिक गरे ।

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका मेयरका उम्मेद्धवार शैलेश चौधरीले पनि आफू विजयी भए निश्कलंक र निश्पक्ष भएर जनताको काम गर्ने वचन दिए ।

उनले पनि राजविराजको विकास र नगरवासीहरुको समृद्धिको लागि भन्दै ३६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उक्त प्रतिबद्धताहरु आफूले ५ वर्षभित्र जसरी पनि पूरा गरेरै छाड्ने दाबी गरे । चौधरी पनि ०५४ मा उक्त नगरपालिकाका मेयर थिए ।

कार्यक्रममा राष्ट्रिय जनता दल नेपालका मेयरका उम्मेद्धवारको उपस्थिति भने थिए । राजपाको ऐतिहाँसिक ठाउँ मानिएको गजेन्द्रनारायण चोकमा आयोजित कार्यक्रममा राजपाका मेयरका उम्मेद्धवार अनुपस्थित् भएको भन्दै कार्यक्रममा उपस्थिति युवा तथा पूराना नेताहरुले असन्तुष्टि पोखेका थिए ।

यद्धपी उक्त कार्यक्रममा राजपा नेपालका केन्द्रिय महासचिव मनिष सुमनले २ नम्बर प्रदेशको चुनाव शान्तिपूर्ण तवरले सम्पन्न हुने विश्वास दिलाए । उनले जनता चुनावी अभियानमा होमिएकाले अब चुनाव स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित वातावरणमा हुने विश्वास दिलाए ।

नेता सुमनले निर्वाचन आचारसंहिता उल्लंघन भएपनि मतलब नभएको बताए । उनले भने,‘राजपा नेपालले चुनाव जित्छ, अहिले हामीले हाम्रोलाई भन्दापनि राम्रोलाई उम्मेद्धवार बनाएका छौं।’ उनले जनताको जन अदालतले मिल भनेकोले नै आफूहरु ६ पार्टीको एकता भएको समेत स्पष्ट पारे ।

कार्यक्रममा उपस्थित सयौंका संख्याका युवाहरुले मेयरका उम्मेद्धवारहरुलाई व्यापक प्रश्न गरेका थिए । उनीहरुले नेताहरुले खाली खोक्रो भाषण गर्ने र जनताको आँखामा छारो हान्न झुठो प्रतिबद्धता जनाउने गरेको तर व्यवहारमा अहिलेसम्म नउतारेको भन्दै आक्रोश पोखेका थिए ।

केही युवाहरुले एमालेका मेयरका उम्मेद्धवारलाई एमाले मधेश विरोधी पार्टी हो भनेर आरोप लगाएका थिए । तर मेयरका उम्मेद्धवार यादवले त्यसको खण्डन गरेका थिए । उनले एमालेको घोषणापत्र हेर्न ती युवालाई आग्रह गरेका थिए ।

उनले थपे,‘हामी मधेश विरोधी पनि होईन, संघीयता विरोधी पनि होईन, यी सबै गलत प्रचार हुन्, दुषित मानसिकता राखेर दुष्प्रभाव फैलाउन काम भएको छ, यसमा हाम्रो घोर आपत्ति छ।’

कार्यक्रममा सहभागी एक जना युवाले माओवादी केन्द्रका मेयरका उम्मेद्धवार एवम् पूर्वमन्त्री समेत रहेका अन्सारीलाई मन्त्री हुँदा गर्न नसकेको काम तपाईले कसरी अहिले मेयर हुँदा गर्नुहोला भनेर विश्वास गर्न सकिएला त भन्दै प्रश्न तेर्साएका थिए । उनको प्रश्नमा अन्सारी एकछिन अक्क न बक्क भएका थिए ।

त्यस्तै कार्यक्रममा पत्रकार ऋषि धमलालाई सयौंको संख्यामा रहेका युवाहरुले खासगरी सप्तरी युथ नेपालले सार्वजनिक अभिनन्दन गरेको थियो । उनीहरुले पत्रकार धमलालाई प्रेरणाको स्रोत भएको भन्दै प्रशंसा समेत गरेका थिए ।

त्यतिमात्रै नभएर, कार्यक्रम जारी रहँदा सयौंको संख्यामा रहेका युवाहरुले एउटै स्वरमा पत्रकार धमलालाई राजविराजको विकास गर्न आईदिन समेत आग्रह गरेका थिए । त्यस्तै उनीहरुले धमलाको नियमित रेडियो, टेलिभिजन तथा अनलाईन कार्यक्रमहरु समेत आफूहरुले नछुटाई हेर्ने गरेको जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्