Logo

पूर्वसांसदलाई सुविधा दिनुपर्ने तर्क कांग्रेसका सांसदले गरेपछि चित्रबहादुर केसीले दिए जवाफ



भदौ २६, काठमाण्डौ । नेपाली कांग्रेसले पूर्व सांसदहरुलाई राज्यले सुविधा दिनुपर्ने अडान राखेको छ । संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिंदै कांग्रेसका सांसदहरुले यस्तो अडान राखेका हुन् ।

पूर्व सांसदहरुलाई पूर्व पदाधिकारीको मान्याता नदिएको भन्दै कांग्रेस सांसदहरुले सरकारको आलोचनासमेत गरेका छन् । जनताबाट निर्वाचित पूर्व सांसदहरुलाई राज्यले सुविधा उपलब्ध गराउनुपर्ने कांग्रेस सांसद तथा सचेतक इश्वरी पौडेलको तर्क थियो ।
त्यस्तै सांसद अर्जुनप्रसाद जोशीले निष्ठापूर्वक जनताको सेवा गरेका पूर्व सांसदहरुलाई पनि पूर्व पदाधिकारीको मान्यता दिन सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले भने जनतामाथि एकपछि अर्को पीडा थपिएको बेला पूर्व सांसदहरुलाई सुविधा दिने विषय जायज नभएको बताए । पूर्व सांसदको सेवासुविधा भन्दा जनताको सेवालाई प्राथमिकता दिनुपर्ने उनको भनाई थियो । केसीले जनताको दुःखभन्दा पूर्व सांसदको दुःख धेरै हुनै नसक्ने भन्दै कांग्रेस सांसदहरुको तर्कप्रति आपत्ति जनाए ।

पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री÷मन्त्रिपरिषदका अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधि सभा वा व्यवस्थापिका संसदको सभामुख, राष्ट्रिय सभा वा संविधान सभाको अध्यक्ष भई निवृत भएको व्यक्तिलाई मात्रै पूर्व पदाधिकारीको मान्यता दिएको छ ।



प्रतिक्रिया दिनुहोस्