भीमदत्तनगर, ८ असोज (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान निर्माणदेखि कार्यान्वयनसम्म सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
गृह जिल्ला कञ्चनपुरको भीमदत्तनगरमा आइतबार सञ्चारकर्मीसित दशैँको शुभकामना आदान–प्रदान कार्यक्रममा नेता लेखकले प्रदेश र प्रतिनिधिसभाको आगामी निर्वाचन स्वच्छ, भयरहित र शान्तिपूर्ण वातावरणमा गराउन सञ्चारमाध्यमको भूमिका आवश्यक रहेको बताउनुभयो ।
“आगामी निर्वाचन सकिएपछि संविधानको पूर्ण कार्यान्वयन हुन्छ,” उहाँले भन्नुभयो । विकासका लागि सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्ने बताउँदै लेखकले समृद्धिका लागि राजनीति गर्नुपर्नेमा जोडसमेत दिनुभयो । “अब विकासका लागि केन्द्रित हुनुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।
केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा शिलान्यास गर्नुभएको चार लेनको पक्की पुल निर्माणका विषयमा शंका नगर्न नेता लेखकले आग्रह गर्नुभयो । “पुलका लागि बजेट विनियोजन भएर प्रधानमन्त्री देउवाले शिलान्यास गरिसक्नुभएको छ”, उहाँले भन्नुभयो, “पुल निर्माणले गति लिइसकेको छ ।” उहाँले पुलसँगै दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भए कञ्चनपुर देशकै प्रमुख आर्थिक नाका बन्ने बताउनुभयो ।




प्रतिक्रिया