काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले मंसिरमा हुने प्रदेश सभा र केन्द्रिय संसदको निर्वाचनमा कांग्रेसलाई हराउनको लागि आफ्नो पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्म गठबन्धन बनाउने बताएका छन् ।
आईतबार साँझ पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उपाध्यक्ष रावलले आउने निर्वाचनमा कांग्रेसलाई पराजित गर्नको लागि आफ्नो पार्टीले राष्ट्रवादी शक्तिदेखि लिएर प्रगतिशिल शक्तिसमेतलाई समेटेर बृहत्त मोर्चा बनाउने बताएका हुन् । उनले भने,“एमालेले चुनावमा तालमेलको राण्नीति लिएको छ, हामीले अहिले माओवादी केन्द्रदेखि पूर्वराजासँगसम्म तालेमल गर्ने योजना बनाएका छौं।”
त्यस्तै उनले राजपा नेपालका संयोजक महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेमकिपा अध्यक्ष नारायणमाज विजुक्छेदेखि लिएर कमल थापा नेतृत्वको राप्रपासम्म तालमेल हुने जनाए ।
(एमाले)ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले सकेसम्म वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको हो । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संग भने तालमेल गर्ने भनिए पनि निर्णय भने भएको छैन ।
यसअघि, सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया