१८ असोज, काठमाडौं । नेपाली कांग्रेसले आगामी चुनावका लागि लोकतान्त्रिक मोर्चा बनाउने निर्णय गरेको छ ।
एमाले, माओवादी र नयाँ शक्तिले चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरे लगतै कांग्रेसले पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि लोकतान्त्रिक गठवन्धन बनाउने निर्णय गरेको हो ।
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेताहरुले अब लोकतान्त्रिक गठवन्धन बनाउनेको विकल्प नभएको धारणा राखेका छन् ।
लोकतान्त्रिक गठबन्धनका लागि राष्ट्रिय जनता पार्टी नेपाल सहितका अन्य दलहरुसँग छलफल गर्ने कांग्रेसको तयारी छ । कांग्रेसले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई छलफलको जिम्मा दिएको छ ।
एक दुई दिनभित्रमा नै चुनावी गठबन्धनसहित टिकट वितरणसम्मका काम सुरु गर्ने तयारी कांग्रेसले गरेको छ ।
यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बुधवार बिहानै प्रधानमन्त्री निवास बालुवाटरमा सरकारमा रहेका र बाहिरका लोकतान्त्रिका पार्टीका शीर्ष नेताहरुलाई बोलाएर तालमेलका लागि छलफल गरेका थिए ।
देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्मशेर राणा लगायतका नेतासँग छलफल गरेका थिए ।
प्रतिक्रिया