बाजुराका मतदाताको नामावली अद्यावधिक


बाजुरा । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ।

जिल्ला निर्वाचन कार्यालयले दोहोरो दर्ता, मृत्यु भएका मतदाता तथा ठाउँसारी गरेका मतदाताको विवरण अद्यावधिक गरेको हो । यस क्रममा ५८९ मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ ।

अद्यावधिकका क्रममा जिल्लाका नौवटै स्थानीय तहबाट दोहोरो दर्ता भएका १९८ जना र मृत्यु भएका ३९१ जना मतदाताको नाम हटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मिलन न्यौपानेका अनुसार गत प्रतिनिधिसभा निर्वाचनपछि हालसम्म जिल्लामा दुई हजार २२२ जनाले मतदाता नामावलीमा नयाँ नाम दर्ता गराएका छन्। नागरिकताबाट एक हजार ८८ र राष्ट्रिय परिचयपत्रबाट एक हजार १३४ जनाले नाम दर्ता गएका हुन् ।

नयाँ मतदाता थपिने क्रमसँगै मतदाता नामावलीमा रहेका पुराना विवरणसमेत अद्यावधिक गरिएको उहाँले जानकारी दिनुभयो । सोही अवधिमा १५० जना मतदाताले जिल्लाभित्रै वा जिल्ला बाहिर ठाउँसारी गरेका छन् ।

बसाइँसराइ तथा विवाहलगायत अन्य कारणले मतदाताको ठेगाना परिवर्तन हुने भएकाले सोहीअनुसार नामावलीमा विवरण अद्यावधिक गरिएको कार्यालयले जनाएको छ। यहाँ नयाँ मतदाता दर्ता हुने र पुराना विवरण अद्यावधिक हुने क्रमसँगै आगामी निर्वाचनका लागि मतदाता नामावलीलाई व्यवस्थित बनाउने काम अघि बढेको छ।

निर्वाचन आयोगले २०८४ वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुरामा ८७ हजार ८६१ जना मतदाता रहेका थिए।