ललितपुर । नेपाली काँग्रेस ललितपुरले केन्द्र र प्रदेशको चुनावका लागि नाम सिफारिश गर्दा केन्द्रीय संसद सदस्यमा बहालवाला तीन सांसदको राजनीतिक भविष्यमाथि चुनौती बढेको छ ।
बहालवाला सांसदसँगै नाम सिफारिश गरिएकामा केही प्रतिष्पर्धी जिल्ला देखि केन्द्रसम्म पहुँचवाला भएकाले चुनौती बढेको हो । क्षेत्र नम्बर एकमा केन्द्रमा राज्यमन्त्री उदयशमशेर राणासहित खोमप्रसाद घिमिरेको नाम सिफारिश भएको छ । घिमिरे ललितपुरको दुर्गम पहाडी क्षेत्रको स्थायी बासिन्दा हुन् । मथुराप्रसाद घिमिरे प्रदेश सभामा सिफारिश भएकाले राणालाई सजिलो भएको छ ।
क्षेत्र नम्बर दुईमा बहालवाला सांसद चन्द्र महर्जनसहित पूर्व सांसद रामकृष्ण चित्रकार र युवा नेता बाबुराजा चित्रकारको नाम सिफारिश भएको छ । महर्जनले पटक पटक अवसर पाइसकेकाले आफूहरूले मौका पाउनुपर्ने दाबी चित्रकारद्वयको छ ।
दुवैजना नेविसंघको राजनीतिबाट आएका हुन् । रामकृष्ण पूर्व उपाध्यक्ष हुन् भने बाबुराजा पूर्व सहमहामन्त्री हुन् । बाबुराजा नेपाली काँग्रेसवृत्तमा सबैले चिन्ने सक्रिय नेताको परिचय बनाउन सफल छन् । उनी ललितपुर महानगरपालिकाको मेयरको दौडमा समेत थिए । तीन नम्बर प्रदेशमा ललितपुर काँग्रेस सभापति मदन अमात्यसहित धन खतिवडाको नाम सिफारिश भएको छ । अमात्य बहालवाला सांसद पनि हुन् ।
धन नेपाल महिला संघकी महासचिव हुन् । क्षेत्र नम्बर १ को प्रदेश क मा मधुराप्रसाद घिमिरे र ऋषिराम घिमिरे, ख मा मीनकृष्ण महर्जन र कबेलबहादुर लामाको नाम सिफारिश भएको छ । मीनकृष्ण कुनै हालतमा टिकट लिइछाड्ने अडानका साथ सक्रिय भएपनि उनको छविका कारण कठिनाई पर्न सक्ने बुझिएको छ । क्षेत्र नम्बर २ को प्रदश क मा पैमे कृष्णमहर्जन र अनन्तप्रकाश श्रेष्ठ, ख मा गणेश सिलवाल र पवनविक्रम थापाको नाम सिफारिश भएको छ ।
सिलवाल कानुन व्यवसायी समेत हुन् भने थापाले इमाडोल क्षेत्रको रहेकाले त्यस क्षेत्रको मतदाताको संख्याका आधारमा आफूले टिकट पाउनुपर्ने दाबी गर्दै आएका छन् । क्षेत्र नम्बर तीनको प्रदेश क मा नवराज महत, उर्मिला केसी र चक्र महजृनको नाम सिफारिश गरिएको छ । महिला भएकाले केसीको सम्भावना बलियो देखिएको छ । ख मा जितेन्द्रकुमार श्रेष्ठ, प्रमोद शर्मा र गोकुल खड्काको नाम सिफारिश भएको छ । श्रेष्ठको पकड बलियो भएकाले उनको पक्षमा लबिङ भएको छ । तर, केन्द्रमा खड्काको पहुँच बलियो हुनुले प्रतिष्पर्धा तिव्र छ ।
प्रतिक्रिया