काठमाडौं, २० असोज । प्रमुख दलहरु गठबन्धन बनाउने तयारीमा जुटिरहेको बेला संसदको चौथो ठूलो दल संघीय समाजवादी फोरम नेपाललाई आ–आफ्नो गठबन्धनमा ल्याउनको लागि अहिले सक्रियता ह्वात्तै बढेको छ ।
राजनीतिक दलहरु एकातिर एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालको वाम गठबन्धन र अर्कोतर कांग्रेस नेतृत्वको बृहत्त लोकतान्त्रिक गठबन्धनमा ध्रुवीकरण भइरहेका बेला उपेन्द्र यादव कुन गठबन्धनमा सामेल हुने टुंगोमा अझै पुगिसकेका छैनन् । तर उनी पछिल्ला दुई दिन यता निकै व्यस्त छन् । कहिले वाम मोर्चाका नेता पुष्पकमल दाहाल प्रचण्डसँग त कहिले कांग्रेस सभापति शेरबहादुर देउवासँग यादवले भेटवार्ता गरिरहेका छन् । उनी अहिले बार्गेनिङ्मा छन् ।
यादव निकट उच्च स्रोतका अनुसार फोरम नेपाल अहिले तटस्थ बनेर जाने बुझिएको छ । १५ जना सांसद रहेको फोरम कुन गठबन्धनमा लाग्छ भन्ने कुराले सत्ता समिकरणमा तत्काल खास असर पर्ने सम्भावना कम भए पनि आगामी प्रदेश र संघको चुनावमा फोरम कुन गठबन्धनमा सहभागी हुन्छ भन्ने धेरैको चासो थियो । तर, उनी भने यतिवेला न्यूट्रल बस्न चाहन्छन्।
किनकी असोज २ गते भएको प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा फोरम दोस्रो ठूलो दल बनेको थियो। स्थानीय निर्वाचनबाट देशभरिमा फोरम चौथो ठूलो शक्ति हो बनेको छ। एक महानगरसहित ३४ स्थानीय तह जितेको त्यही फोरमलाई दुबै गठबन्धनले आफ्नो पक्षमा तानातान गरिरहेका छन्।
फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले आज विहान पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै भने,‘हामी तटस्थ बस्छौं, अहिले दुवै मोर्चासँग तालमेल गरेर अघि बढ्छौं।’
उनका अनुसार आफ्नो पार्टीले मधेशमा अवस्था हेरेर दुवै वामपन्थी र लोकतान्त्रिक मोर्चासँग तालमेल गर्नेछ । त्यसको लागि अहिले पार्टी अध्यक्ष यादव रणनीति बनाउँदैछन् । यता प्रधानमन्त्री शेरबहादुर देउवा भने माओवादी केन्द्रका मन्त्रीहरु नहटाउने पक्षमा उभिएका छन् ।
प्रतिक्रिया