काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एकजनाले विजेताको मत पाए पनि अदालतमा मुद्दा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले दिएको जानकारीअनुसार, वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छन् । महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो भएकी छन् ।
त्यस्तै कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएका छन् ।
विनिता खड्का विजेता भए पनि उनीमाथि अदालतमा मुद्दा रहेकाले अहिलेलाई उनलाई निर्वाचन समितिले निर्वाचित घोषित नगर्ने भएको छ ।
निर्वाचित हुनेमा अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन् ।
प्राप्त मतपरिणामअनुसार, विनिता खड्काले २ हजार ८६६, अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उमेदवारबीच प्रतिस्पर्धा भएको थियो ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यहरूको मतगणना गरिएको हो ।
(*१४ जना निर्वाचित हुनुपर्नेमा १५ जना भएकाले सच्याइएको छ ।)




प्रतिक्रिया