कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमवीच आजै एकता हुने


काठमाडौं, २३ असोज । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आजै दिउँसो पार्टी एकीकरण गर्ने विषयमा दुई दलका शीर्ष नेताहरुको बैठक अहिले जारी छ।

दुवै पार्टीका प्रमुखहरुवीच अहिले गोप्य छलफल चलिरहेको स्रोतको दाबी छ । कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरु छन् भने उताबाट अध्यक्ष विजयकुमार गच्छदार एक्लै छलफलमा सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार निकट उच्च स्रोतका अनुसार गच्छदारले आजै नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी समेत गरेका छन् । गच्छदार २०६४ सालअघि नेपाली कांग्रेसमा नै थिए ।

उनले नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०५६ मा टिकट लिएर चुनाव जितेका थिए भने त्यसपछि उनले २०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका थिए । उनले २०७० मा सुनसरी क्षेत्र नं ३ बाट चुनाव जितेका हुन् ।