काठमाडौं, ३१ असोज । सरकार छोड्ने भनेर राजिनामा दिने तयारीमा जुटेका माओवादी केन्द्रका मन्त्रीहरुले एकाएक सरकारमै बस्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी खोस्दै विना विभागहिन मन्त्री बनाउने बुझेपछि सरकार छोड्ने निश्कर्षमा पुगेको माओवादी प्रधानमन्त्री देउवा चुनाव सार्ने प्रपञ्चमा रहेको भन्दै सरकारबाट नबाहिरिने निर्णयमा पुगेका छन ।
गृहमन्त्रालयमा मंगलवार दिउसो पत्रकार सम्मेलन गर्दै गृहमन्त्री जनार्दन शर्माले चुनाव सार्ने प्रपञ्चमा प्रधानमन्त्री देखिएकाले सरकारबाट नबाहिरिने वताउनु भएको हो ।
मन्त्री शर्माले माओवादीले सरकार छाडेमा चुनाव सार्ने तयारी गरेको सूचना आएको वताएका थिए । उनले भने,‘म गृहमन्त्री हुँ, चुनाव सार्ने सूचना मलाई पनि आइरहेको छ, सरकार छाड्ने चिठ्ठीको अन्तिम ड्राफ्ट हुँदैगर्दा यस्तो सूचना आएकाले हामीले सरकार नछाड्ने निर्णय गरेका हौं ।’ माओवादीले सरकारमा बस्ने लोभका कारण नभएर चुनाव सुनिश्चित गर्न सरकार नछोड्ने उनको भनाई थियो ।
सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउनेबारे प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहान सल्लाह गरेका थिए । तर, देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए । स्रोतका अनुसार प्रचण्डले विना विभागीय भएर बस्नुभन्दापनि आफ्ना मन्त्रीहरुले सहजै राजिनमा दिने भन्दै देउवालाई आश्वासन दिएका थिए । उक्त छलफलमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि थिए ।
प्रचण्डले आफ्ना मन्त्रीहरुलाई आजै सरकार छोड्नुपर्ने हुन्छ भन्दै तयारीमा अवस्थामा रहनको लागि विहानै सन्देश सर्कुलर गरिसकेका थिए । तर संसद पनि नभएको र सरकार पनि छाड्दा प्रधानमन्त्रीले चुनाव सार्न लागेको सुचना आफुहरुसमक्ष आईपुगेकोले तत्काल सरकार नछाड्ने निर्णयमा पुगेको मन्त्री शर्माले बताएका थिए ।
हुन त समानुपातिक तर्फको निर्वाचनको मतपत्र एउटै भएकोले उक्त मतपत्र दुई किसिमको हुनुपर्छ भन्दै राजपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले सर्वोच्च अदालतमा रिट हालेका थिए । सोही रिट अनुसार चुनावको मिति प्रधानमन्त्रीले सार्न सक्ने माओवादी नेताहरुको आशंका छ । माओवादीका एक नेताले भने, ‘कम्तिमा कात्तिक ५ गतेसम्म हामीले सरकार छाड्नु हुँदैन ।’
कात्तिक ५ गते पहिलो चरणको चुनावको मनोनयन छ । उक्त रिटबारे सर्वोच्च अदालतका न्यायाधिश पुरुत्षोत्तम भण्डारी र दिपराज जोशीको संयुक्त ईजलाशमा बहस सुरु भएको छ ।
प्रतिक्रिया