चुनाव विथोलिने गरी अदालतले कुनै निर्णय नलिने एमालेको विश्वास


१ कात्तिक, काठमाण्डौ । नेकपा एमालेका नेता योगेश भट्टराईले आगामी चुनावका लागि उम्मेदवार छनौट अन्तिम चरणमा पुगेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता भट्टराईले चाहिनेभन्दा बढि साथीहरु उम्मेदवारका आकांक्षी भएकाले व्यवस्थापन गर्न ढिलाई भइरहेको बताए ।
माओवादी र एमालेबिच चुनावी तालमेल भएकाले कतिपय ठाउँमा दुवै दलका नेताहरुले दाबी गर्दा व्यवस्थापनमा अझ कठिनाई भएको भट्टराईले बताए । दुई दलबिचको चुनावी तलमेल चुनौतिपूर्ण छ भन्ने जान्दा जान्दै मुलुकको आवश्यकता अनुसार एक हुने प्रयारमा रहेको भट्टराईले बताए ।

योगेश भट्टराई, सचिव, नेकपा एमाले

दुई पार्टीलाई ठूला समुद्रको संज्ञा दिदै भट्टराईले दुई ठूला समुद्र एक ठाउँमा भेट हुँदा ठूलै उथलपुथल हुने तर्क गरेका छन् । माओवादीसँगको एकता प्रक्रिया सुरुभएपछि एमालेले कतिपय कुरामा यु टर्न नै गर्नुपरेको भट्टराईको भनाई छ ।
कम्तीमा पनि एक सय वर्षका लागि एमाले र माओवादीबिच पार्टी एकता हुने भट्टराईको दाबी छ । “सय वर्षसम्म एउटै पार्टी भयो भने त्यसपछि अर्को पार्टीको आवश्यकता नै पर्दैन ।” भट्टराईले भने ।

विजयकुमार गच्छादार कांग्रेसमा मिसिदैमा एमाले आत्तिन नहुने तर्क भट्टराईको छ । गच्छादारले प्राकृतिक रुपमा सही बाटो समाएको उनले बताए ।
माओवादी केन्द्रले सरकार छाड्ने वा नछाड्ने भन्ने कुरा उनीहरुको अधिकार भएको भट्टराईले बताए । यद्यपी, केपी शर्माले माओवादीलाई सरकार नछाड्न सल्लाह दिएको भन्ने सन्दर्भमा भट्टराईले भनेका छन्, “हाम्रो सुझाब यति हो कि निर्वाचनलाई सहज र शान्तिपूर्ण बनाउनका लागि उहाँहरु सरकारमा सामेल हुँदा नै सजिलो होला कि भन्ने हाम्रो अनुमान हो ।”

समानुपातिक र प्रत्यक्ष निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्रको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भए पनि अदालतले देशलाई अस्थिरतातर्फ लैजाने किसिमको फैसला गर्दैन भन्नेमा एमाले विश्वस्त रहेको भट्टराईले बताए । चुनाव विथोलिने गरी अदालतले कुनै निर्णय नलिने उनको तर्क छ ।