ललितपुर, १३ कार्तिक । राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, कर्मचारी, पत्रकारलगायतले निर्वाचनको समयमा आचारसहिंताको पालना गर्न गराउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा ललितपुरका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले आचारसहिंताको उल्लंघन हुँदा आयोगले गरेको व्यवस्थाअनुसार कारबाही हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सामान्य जरिवानादेखि उम्मेदवारी रद्दसम्मको व्यवस्था छ, हामी त्यसलाई कार्यन्वयन गराउँछौं ।” पूर्वाग्रही भएर उजुरी नगर्न उहाँले दलहरुलाई आग्रह समेत गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी महादेव अधिकारीले सवारी साधनको गलत प्रयोग हुँदा तुरुन्त खबर गर्दा प्रशासनलाई कारबाही गर्न सजिलो हुने बताउनुभयो ।
नेपाली काँग्रेसका जिल्ला सचिव भीमसेन घिमिरेले निर्वाचनकै दिनसमेत दलका प्रतिनिधिको उपस्थितिमा परिचयपत्र दिनुपर्ने आवश्यकता औंलाउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख सीता साङ्वाले निर्वाचनको दिनमा केन्द्र व्यवस्थापन गर्नुपर्ने हुँदा कर्मचारीले परिचयपत्र बाँड्न नभ्याउने बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयले आसन्न निर्वाचनलाई व्यवस्थित बनाउनका लागि विभिन्न सरोकार राख्ने निकायका प्रतिनिधिसँग छलफल थालेको छ ।
स्थानीय निकायको निर्वाचनमा भन्दा अहिले झण्डै एक हजार ५०० मतदाता थप भएको कार्यालयले बताएको छ । रासस




प्रतिक्रिया