Logo

श्रेष्ठलाई खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर



कृष्णराज गौतम : काठमाडौँ, २३ मंसिर : नेकपा (एमाले) का क्रियाशील सदस्य जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर प्राप्त गर्नुभएको छ ।

यही मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार भई निर्वाचित हुनुभएको छ ।

उहाँले १३ हजार ३९७ मत प्राप्त गरी संसद्मा प्रवेश गर्नका लागि जनादेश पाउनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रमा विसं २०६४ र २०७० बाट निर्वाचित जोशी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।

विसं २०२२ पुस १५ गते काठमाडौँमा जन्मनुभएका श्रेष्ठले विसं २०४२ देखि नेकपा (माले)मा प्रवेश गरेर राजनीति शुरु गर्नुभएको हो । उहाँ २०७० मा भएको दोस्रो संविधानसभाको चुनावमा जोशीको निकटतम प्रतिद्वन्द्वी हुनुभएको थियो ।

तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको स्थापना हुँदा श्रेष्ठ सदस्य, केन्द्रीय सचिव, विदेश विभाग प्रमुख हुँदै केन्द्रीय उपाध्यक्षसम्म बन्नुभएको थियो । नेकपा (एमाले) को बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले उहाँलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको थियो ।

उहाँले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा विसं २०५३ र २०६४ मा गरी दुई पटक जिम्मेवारी वहन गरिसक्नुभएको छ । अहिले उहाँ नेपाल ओलम्पिक कमिटीका अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ ।
काठमाडौँ महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाका ४ र ५ वडासमेत उक्त क्षेत्रमा पर्छ । विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य तथा जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, जनकनन्दिनी सीताले टेकेको पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको त्यस क्षेत्रमा श्रेष्ठ निर्वाचित भएको खबर आएपछि विजय जुलुस शुरु भएको छ ।

श्रेष्ठले आफू निर्वाचित भएपछि रासससँग कुरा गर्दै उक्त क्षेत्रलाई सम्पदास्थलका रुपमा विकास गर्नाका साथै भूकम्पले भत्किएका सम्पदास्थल तथा भूकम्पबाट धरापमा परेका निजी घरको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।

संयुक्त वाम गठबन्धनको घोषणापत्रलाई कार्यान्वयन गर्ने सन्दर्भमा आफूले भूमिका निर्वाह गर्ने बताउँदै उहाँले स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका परियोजना उपलब्ध गराइने वचन दिनुभयो ।

नेता श्रेष्ठले खेलकुद क्षेत्रको विकासमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रबाट सहयोग जुटाउने बताउँदै नेपाल ओलम्पिक कमिटीका नेतृत्वमा डल्लु आवासमा करिब रु पाँच करोडको लागतमा कभर्ड हल निर्माण गरिने पनि जानकारी दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्