समानुपातिक क्षेत्र बाँडफाँडमा राजपाभित्र विवाद


काठमाडौँ, ११ पुस । राजपा नेपाल प्रदेशसभाअन्तर्गत समानुपातिक स्थान बाँडफाँडमा लाग्दैछ। नेतृत्वले पार्टीमा योगदान गरेका भन्दा पनि आफन्त र नजिककालाई सांसद् बनाउन लागेकामा विवाद बढेको बताइएको छ।

समानुपातिक स्थान बाँड्न विवाद देखिएपछि राजपा अध्यक्षमण्डल बैठकले उक्त विवाद किनारा लगाउन सोमबार अपराह्न १ बजेका लागि बैठक बोलाएको भए पनि नेताहरूको अनुपस्थितिका कारण बैठक बस्न सकेन।

अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य शरत्सिंह भण्डारीबाहेक अरु नेता उपस्थित हुन नसकेपछि बैठक स्थगन भएको हो। राजपाका महासचिव केशव झाले बैठक मंगलबार पुनः बसी समानुपातिक स्थान बाँडफाँटको टुंगो लगाउने जानकारी दिँदै समानुपातिक स्थान बाँडफाँडमा दलभित्र सामान्य विवाद रहेको स्वीकारे।

केही नेताहरू काठमाडौँ उपत्यका बाहिर रहेको र प्रतिकूल मौसमका कारण विमान उड्न नसकेका कारण पनि राजधानी आउन समस्या भएको बुझिएको छ।

राजपाले प्रदेशसभा समानुपातिकमा १२ स्थान जितेको छ। सोअनुरुप प्रदेश नं २ मा १० तथा प्रदेश नं ५ र ७ मा एक एक स्थान पाएको छ। राजपाले प्रतिनिधिसभातर्फ प्रदेश नं २ मा १० र प्रदेश नं ७ मा एक गरी ११ स्थान जितेको छ। रासस

Skip This

Omoda E5 Pro