Logo

तटबन्ध निर्माणले खुशी छन्, भोटेकोशी किनारका बासिन्दा



अच्युत रेग्मी : बाह्रबिसे, सिन्धुपाल्चोक, २४ पुस  : भोटेकोशी नदिको दुवै किनारामा ठूलो तटबन्ध निर्माण शुरु भएपछि बाह्रबिसेका जनता खुशी भएका छन् ।

हरेक वर्षात्मा भोटेकोशी नदी पस्ने डरले सुत्न नपाउने गरेका बाह्रबिसे नगरपालिका–४ का जनता तटबन्ध निर्माणले खुशी भएका हुन् । भोटेकोशीको दुवै किनारामा पक्की घर निर्माण भएका छन् ।

नदीको किनारामा ढलान गरेर पक्की घर बनाएका ३६ वर्षीय हरि श्रेष्ठ वर्षात् लागेपछि आफूहरु सामान लिएर अर्कोको घरमा जानुपर्ने बाध्यता रहेकोमा अहिले नदी तटबन्ध बनेपछि साह्रै खुशी देखिनुहुन्थ्यो ।

“हरेक वर्ष वर्षात्को बेला नदी बढेर सुत्न सकिँदैनथ्यो, तटबन्ध निर्माण भएपछि थोरै भए पनि राहत भएको छ,”– उहाँ भन्नुहुन्छ । पानी परेसँगै नदी बढेर घर बगाउने डरले कयौँ दिन जाग्राम बसेको उहाँको अनुभव छ ।

भोटेकोशीले हरेक वर्ष बर्खायाम लागेसँगै घर, खाद्यान्न, पशुपक्षी, लत्ताकपडा र मानिससमेत बगाउने गरेको थियो । नदीको करिब ५० मिटर नजिक घर भएका ६० वर्षीय कृष्णमाया शाक्य वर्षात् समयमा नदी बढेर सुत्न नसकिने गरेको अनुभव बताउनुहुन्छ । “अहिलेसम्म विसं २०३६, २०५८ को बाढी र गोरखा भूकम्पको बेला तीनपटक नदी ठूलो भएर भाग्नुप¥यो,”– उहाँ भन्नुहुन्छ । भोटेकोशी नदीले गत वर्ष बाह्रबिसेका राजकुमार कोजुको घर बगाएको थियो ।

यसैगरी नदीको किनारामा घर भएका ५७ वर्षीय गणेशमाया श्रेष्ठको पीडा पनि उस्तै छ । वर्षात् समयमा पानी परेको बेला बास खोज्न पटकपटक अरुको घरमा गएको उहाँको अनुभव छ ।

यी केवल प्रतिनिधिपात्र मात्र हुन् । उहाँहरुजस्ता नदीको किनारामा घर भएका थुप्रै मानिस भोटेकोशी पीडित छन् । पहाडी भेगमा कोशी क्षेत्र पहिरोको एकदमै जोखिम क्षेत्रको रुपमा लिइन्छ । पहिरो जाँदा नदी बढ्ने र ठूलो जनधनको क्षति हुने गरेको छ ।

भूगर्वविद् डा कृष्ण देवकोटा भौगोलिक दृष्टिकोणले सिन्धुपाल्चोक जिल्ला अत्यन्त जोखिमपूर्ण क्षेत्रको रुपमा रहेको बताउनुहुन्छ । “भीरपाखा र नांगा डाँडा रहेकाले यो क्षेत्रमा अत्यन्त धेरै बाढीपहिरो जाने गरको छ,”– डा देवकोटा भन्नुहुन्छ ।

बाह्रबिसेको करिब चार किलोमिटर दक्षिण जुरे क्षेत्रमा विसं २०७१ साउन १७ गते ठूलो पहिरो गएको थियो । जुन पहिरोका कारण २४ घण्टासम्म नदी थुनिएको थियो भने पहिरोले तत्कालीन माङ्खा गाविसका दर्जनौँ मानिसको मृत्यु भएको थियो ।

नदीको किनारामा तटबन्धन गर्न सिँचाइ मन्त्रालयअन्तर्गत रहेको जल उत्पन्न व्यवस्थापन विभागले रु चार करोड एक लाख बजेट विनियोजन गरेको छ । सोही क्षेत्रका तत्कालीन सांसद एवं वर्तमान सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा नदी व्यवस्थापनका लागि उक्त रकम विनियोजन गरिएको थियो ।

“लामो समयदेखि सुनकोशी नदिले दिएको पीडाको समाधानका लागि उक्त क्षेत्रको तटबन्धको काम शुरु गरिएको हो,”– मन्त्री बस्नेत भन्नुहुन्छ ।

सिन्धुपाल्चोकको प्रमुख व्यापारिक केन्द्रका रुपमा समेत बाह्रबिसे बजारलाई लिइन्छ । भूकम्पपछि तातोपानी नाका सञ्चालनमा नआउँदा यहाँको व्यापार व्यवसायमा कमी आएको छ । बाह्रबिसे नगरपालिकाको जनसंख्या २६ हजार ४१८ छ ।



प्रतिक्रिया दिनुहोस्