देउवा सरकारले अघि बढाएको सम्बन्धलाई नयाँ सरकारले निरन्तरता दिनुपर्छ : मन्त्री यादव


काठमाडौं, ९ माघ । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र सुमधुर भएर अघि बढ्ने विश्वास दिलाए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले ६९ औं भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध : आगामी दिनमा द्धिपक्षीय संभावना र चूनौतिहरु’ नामक विशेष साक्षात्कारमा यादवले भने,‘नेपाल–भारत सम्बन्ध अरु देशजस्तो होईन, अति विशिष्ट छ, सरकार–टु–सरकारमात्रै सम्बन्ध नभएर यो सम्बन्ध जनस्तरको सम्बन्ध हो, अझ भनौं भने यो सम्बन्ध रोटीबेटीको हो, सरकार परिवर्तन हुँदैमा सम्बन्धमा खास बदालाव आउँछ भन्ने हुँदैन्, पहिला जे/जस्तो थियो, आगामी दिनमा पनि त्यस्तै हुन्छ र रहन्छ, देउवा सरकारले अघि बढाएको सम्बन्धलाई नयाँ सरकारले निरन्तरता दिनुपछ ।’

नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री यादवले नेपाल र भारतवीच खुल्ला सिमानाहरु रहेको उल्लेख गर्दै हरेक कुराहरु दुई देशवीच मिल्ने र समानता रहेको सुनाए । उनले भने,‘हामीवीच धेरै कुराहरु मिल्छन्,खानपान, लवाईखुवाई र अन्य सामाजिक–साँस्कृतिक, धार्मिक सबै कुराहरु समानता छन्, त्यतिमात्रै नभएर देवीदेवता पनि समान छन्।’

गठबन्धनको नयाँ सरकार बन्दैमा पूर्ववर्ती सरकारले छिमेकीहरुसँग अघि सारेका र गरेका कामहरुमा कुनै प्रभाव नपर्ने उनको विश्वास थियो । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच भएको सम्वादलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताउँदै मन्त्री यादवले स्वागत समेत गरे ।

उनले भारतलाई चिढ्याएर भन्दापनि सम्बन्धलाई सुमधुर बनाएर अघि लैजानुपर्नेमा जोड दिए । त्यस्तै मन्त्री यादवले यही जनवरी २६ मा मनाईने ६९ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारतीय नागरिकलाई शुभकामना दिए ।